व्यवसायी सदस्य राहत कोषमा सहयोग बढ्दै



9,000 SHARES

झापा। व्यवसायिक संस्थाहरू केवल व्यापारिक हितमा सीमित नहुने, सामाजिक सहकार्य र आपसी सहयोगको साझा प्लेटफर्म बन्न सक्ने उदाहरण पछिल्लो समय झापाको बिर्तामोडमा देखिन थालेको छ।

बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको ‘व्यवसायी सदस्य राहत कोष’ अहिले व्यवसायीबीच सहकार्य र सहानुभूतिको अभियानका रूपमा विस्तार हुँदै गएको छ।

विज्ञापन

व्यवसायीलाई आपत्, विपद्, स्वास्थ्य समस्या वा आकस्मिक संकट पर्दा संस्थागत सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई एक करोड रुपैयाँ पु¥याउने दीर्घकालीन लक्ष्य राखिएको संघले जनाएको छ। कोष स्थापना भएपछि व्यक्तिगत उत्सवलाई सामाजिक योगदानसँग जोड्ने अभ्यास बढ्दै गएको संघका अध्यक्ष राजु न्यौपानेले बताए।

विज्ञापन

कोष सुदृढीकरण अभियानअन्तर्गत बिर्तामोडका अग्रज व्यवसायी तथा संघका सल्लाहकार मोहन मित्तल र मधु मित्तल दम्पत्तिले आफ्नो वैवाहिक वर्षगाँठलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै २३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्। रकम संघका अध्यक्ष राजु न्यौपाने र राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’लाई हस्तान्तरण गरिएको हो।

सो अवसरमा संघले मित्तल दम्पत्तिलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो। अध्यक्ष न्यौपानेले व्यवसायीहरूले निजी खुसीका क्षणलाई सामूहिक हितसँग जोड्न थालेको प्रवृत्तिले राहत कोषलाई दिगो बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार विगतमा औपचारिक कार्यक्रममै सीमित रहने सहयोग अहिले व्यक्तिगत उत्सवमार्फत नियमित बन्न थालेको छ, जसले व्यवसायीबीच सहकार्यको नयाँ संस्कार विकास गरिरहेको छ।

जन्मदिन पनि सहयोगकै अवसर

संघका महासचिव कुशल खतिवडाको जन्मदिन पनि संघको कार्यालयमै मनाइएको थियो। जन्मदिनलाई औपचारिक शुभकामनामा मात्र सीमित नराख्दै उनले राहत कोषका लागि सात हजार सात सय सात रुपैयाँ सहयोग प्रदान गरेका छन्। उनले रकम अध्यक्ष न्यौपाने र संयोजक घिमिरेलाई हस्तान्तरण गरेका हुन्।

संघका अनुसार पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ, पारिवारिक स्मृति दिवस तथा पितृ स्मरणका अवसरमा सहयोग गर्ने व्यवसायीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। यसले राहत कोषलाई अभियानकै स्वरूप दिएको संघको बुझाइ छ।

२५ लाख नाघ्यो संकलन

राहत कोषमा २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ। लक्ष्यअनुसार रकम वृद्धि हुँदै गए व्यवसायी समुदायका लागि आपत्कालीन सुरक्षा संयन्त्र तयार हुने अपेक्षा गरिएको छ।

व्यवसायीहरू दुर्घटना, आकस्मिक बिरामी, प्राकृतिक विपद् वा आर्थिक संकटमा परेका बेला तत्काल सहयोग उपलब्ध गराउने संरचना अभाव महसुस भएपछि कोष स्थापना गरिएको संघका पदाधिकारी बताउँछन्।

सामाजिक सुरक्षा मोडेलतर्फ व्यवसायी

व्यवसायिक प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा आपसी सहकार्य कमजोर हुने चिन्ता व्यक्त भइरहेका बेला बिर्तामोडमा भने फरक अभ्यास देखिन थालेको छ। व्यक्तिगत उत्सवलाई सामूहिक हितसँग जोड्ने यो अभ्यास दीर्घकालमा व्यवसायी समुदायका लागि अनौपचारिक सामाजिक सुरक्षा प्रणालीको आधार बन्न सक्ने विश्वास संघले व्यक्त गरेको छ।

संघले आगामी दिनमा थप व्यवसायीलाई अभियानमा सहभागी गराउँदै राहत कोषलाई लक्षित रकमसम्म पु¥याउने योजना अघि बढाएको जनाएको छ। व्यवसायी समुदायको बढ्दो सहभागिताले कोष केवल आर्थिक संरचना मात्र नभई सहकार्य र संवेदनशीलताको साझा प्रतीक बनाउने लक्ष्य लिइएको संघका वरिष्ठ उद्योग उपाध्यक्ष विशाल थापाले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय