|
698 SHARES |
इलाम । इलाम नगरपालिका–८ बज्रदेवी क्षेत्रमा आज दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले चालकसहित सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको जनाएको छ।
दुर्घटनामा झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बाका करिब ४० वर्षीय नाजु आलम टाउकोमा चोट लागी मध्यम अवस्थामा रहेका छन्। सोही स्थानका ४७ वर्षीय गोपाल प्रसाद दुलालको निधार र दाहिने काँधमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१० विशालपथकी ३६ वर्षीया रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बाँया खुट्टामा चोट लागेको छ। गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ३३ वर्षीय रमेश चेम्जोङको बाँया खुट्टामा चोट लागेको छ।
झापाको दमक नगरपालिका–७ श्रीपालीका २२ वर्षीय रोहिन लावतीको निधारमा चोट लागेको छ। त्यस्तै धरान–१० विशालपथका ७३ वर्षीय महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। उनका छोरा ३४ वर्षीय मनकुमार राईको दाहिने पिँडुलामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।










