|
679 SHARES |
पोखरा । निरन्तर वर्षापछि खसेको पहिरोका कारण पोखरास्थित सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमानामा रहेको रातोपैह्रो क्षेत्रमा नदी कटानसँगै खसेको ठूलो पहिरोले नदीको बहावमा अवरोध सिर्जना गरेको हो।
पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसक्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिएकी छन्।
घटनापछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, उपप्रमुख गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेको थियो।

निरन्तर वर्षा भइरहेका कारण थप पहिरो खस्ने जोखिम कायम रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सम्बन्धित निकायले नदीको अवस्था र सम्भावित जोखिमको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।










