|
1,013 SHARES |
झापा । देशभर सक्रिय रहेको मनसुनी प्रणाली क्रमशः कमजोर बन्दै गएपछि मंगलबार रातिदेखि वर्षाको मात्रा घट्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले हालको सक्रिय वर्षा प्रणाली कमजोर हुँदै गएको र अर्को प्रभावकारी प्रणाली नआएसम्म देशभर निरन्तर वर्षा नहुने जनाएको छ।
विभागका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा समेत केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम कायम रहनेछ।
वर्षा क्रमशः घट्ने भए पनि जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।










