|
9,000 SHARES |
अजम्बर आज काम विशेषले पल्लो गाउँ नुनढिकि जानू पर्यो। विद्यालय विदा भएकोले तेस्तो हतार थिएन।अलिक ढिलो उठ्न खोजेको बाख्रा ब्याएछ बाख्राको पाठा कराएपछि बाउले कराएर उठाए “ए! अजम्बर उठ उठ । बाख्रा ब्याए जस्तो छ गएर हेर त के भो। जाडो छ न्यानो थिक पार्नु पर्छ। नत्र त पाठा मर्छ पौ ।”
बाउले भनेपछि उठ्नै पर्यो। जुरुक्क उठेर चप्पल लतार्दै लाग्यो खोरतिर दुईवटा सग्लो सग्लो पाठा पाएछ। बाख्राले चाटिरहेको बच्चालाई उठाएर दूध चुसाउन सहयोग गर्यो। अजम्बरले सोच्यो आमाको माया कति महत्वपूर्ण हुन्छ।बच्चालाई कुनै सिमा नराखी प्रेम गर्छ। आफुले आमालाई घरी घरी मुख लागेको घटनाको सम्झना गरेर आफैलाई धिक्कार्यो।आमाप्रति सधैं आदरभाव राख्न प्रयत्न गर्ने कसम मनमनै दोहोर्यायो। दूध खाई सकेको हुनाले पाठालाई थाङ्नाको न्यानो ओछ्यान बनाएर कुनामा डोकोले छोप्यो।
हात मुख धोएर चर्पि गयो।हिजो मासुमा खोर्सानी अलिक ज्यादा भएछ कि क्या हो दिसा गर्न निकैबेर लाग्यो । दाँत सफा गरेर भान्सामा छिर्यो।आमा चियाको धन्दामा रहिछन्। “आमा खोइ ढोगुङ ! सेवा गरुङ !” खुट्टामा छोएर ढोग्यो।
“लाउ! यो के पो भो आजु? लु आचम्मै गर्यो। लु गतिलो गरिखाने हुनु भाग्गेमानी हुनु।सय बर्ख आयु हुनु ।”
“हे हे हे अब आमा शिर हो नि त।” अजम्बर एक बित्ता हाँसेर। चुला छेउ बस्यो।
“दुईवटा पाठा ब्याएछौ धोबिनिले।यसैगरी बीस माउले ब्याउदा त के विदेश जानू हाउ यतै गजब हुन्छ त नि बाउ!”
बलिरहेको आगोमा हात सेकाउदै बोल्यो अजम्बर।
“हो नि पाखामा घाँस लाउनु पर्छ। चराउदा नि हुन्छ।तर खिप्ति चाइन्छ।गफाले चि उई है केटा!”
फाबारी जेठाले छोरालाई अलिक थर्काएर सम्झाउदै चुरको लामो सर्को तान्यो।
“हन गरेपछि त गर्नुपर्यो नि।मेम्बी अजम्बर! अब बीस वटा माउ भेला एकचोटि हुन्दैन ।बिस्तारै बनाङ्नु पर्छ एक दुई बर्ख लाएर।” आमाले भात बसाउदै कुरा बढाइन्
“अँ अब पढ्दै बाख्रापालन बढाउनु पर्ला । आज पारी नुनढिकि गाउँ जानू छ। एक डेड घन्टा लाग्छ पुग्नै, छिटो पो गर्नु पर्यो।” यति भनेर लुगा लगाउन कोठा छिर्यो।
“किन पो जानू नुनढिकि हाँ केटा!” बाउले घाँस काट्न जान खोज्दै सोध्यो।
“त्याँ मेरो साथी बजिरहाङ चोङबाङ काठमाडौ बसेर दुई वर्षपछि घर फिरेको छ भेट्न बोलाको छ । म भन्दा जेठै हो। चोङ्बाङ मुलघरेको छोरा।हामी फूटबल छेलो पक्लुङ लेप्मा गर्दा भेटेको पन्चमी मेलामा।ती देखि साथी भको फेरि फेसबुकमा बोलिरहन्छौ।”
“अब खोलानाला के छ कुनि होसियार हुनु नि पसि नाहाल्नु एक्लै दुक्लै गाडी घोडा नि पाङ्दोइना भनेको बेलामा, रातबिरात नाहिन्नु बरु उतै बस्नु फिर्दा नि बेलैमा पो है, भरसाक नाजादा नि हुने ।आरे! आनि फोनको नि के काम फोनैमा बोल्नु नि हुन्दैना!” अर्ति लामो छाटेर नजादा राम्रो हुने आसयले फाबारी जेठाले डोको टिपेर बारितिर हिड्यो।
“होइन अब भेटेर यसो नयाँ गफगाफ गर्नु छ। साथी हो हितैसी, त्यै भएर नि आइहाल्छु नि।” बुवालाई सम्झाउने पाराले अजम्बर बोल्यो।
खाना खाएर ओरालो लाग्यो केटो खेतै खेत धान पाकेर पहेंलपुर।बिहानको घाम डाँडामाथि छिप्पिन्दै छ।खोल्सा आयो सङ्लो पानी छङछङ झरिरहेको छ। भिडियो बनायो सोच्यो एउटा टिकटक हान्दिनुपर्यो। पानीले बगाएर ल्याएको प्लास्टिकको झोला बोरा मसिनो खोलहरु बोतल बियरको बोतल कपडा सिसा कति हो कति फोहोर पानीले बगाएर झारेको कति दिक्क लाग्यो उसलाई , सोच्यो आफुले कति पटक बाटोमा पानीमा फोहोर फ्याँकेँ होला।
उसले धेरै पटक गाडिबाट पानीको बोतल घुइँक्याएको रहेछ। उ प्राय: मधेस जाँदा फ्याँक्ने गर्दो रहेछ। हिजो अस्तिको दिन मात्रै विद्यालयमा उसले पानी पिइ सकेर बोतलको गोल खेलेर घारीमा हानी पठाएको सम्झ्यो।
अब अरु फोहोरको त कुरै नगरौं कति पटक जताभावी मिल्कायो उसले आज आफ्नै स्वच्छ खोलानाला दुषित हुँदा आफू समेत जिम्मेवार भएको महशुस गरेर दुखी बन्यो।आफैले नै प्रथमत: फोहोर नगर्ने बाचा गरेर दृढ बन्यो।निकैबेर हिडेपछि सिम खेत आयो खेत माथि दुई तीन वटा राम्रो दुईतले घर रहेछ। बाहिर लालुपाते फुलिरहेको थियो। घन्टी फूल धोक्रे फूल भित्तामा घन्टी जस्तै फुलिरहेका थिए। घुरेनमा कागतिको बोटमा कागती फलेको थियो। फुल तरुल बेसार पिडालो इस्कुस घारी छिटफुट देखिथ्यो।पालुंगो फुलेर सुकेछ। अलिक मुनि नास्पातिको बोट आरुको बोट देखिन्थ्यो।घरपछाडि लामो गोठ रहेछ। गाइले काँधे बलोमा जुरो दलेर बनेको चिल्लो दाग अझैसम्म थियो।गाई गोरु बस्ने भुइँमा किराले माटो उठाएर आधिपत्य जमाएको थियो अलिक पर्तिर सुँगुरको खोर रहेछ।मलमा बुरबुर माटो उठेको थियो त्यसपछि अन्दाजी तिनफिटको ढुङ्गे गाह्रो थियो।थकाइ लागेर अजम्बर त्यो बाटोको घरमा उक्लेको हो।सिकुवामा ओछ्याएको गुन्द्री धुलोले छोपेछ। अगाडि आँगनमा सुकेको पानीको धारा थियो। अर्कोतिर सिमेन्टको पिल्लरमा धारा थियो। त्यो अलिक नयाँ रहेछ सायद बटुवालाई पानी पिउँन अलिक पछि राखिएको होकि लाग्यो।यसो धारा थिचेको पानी आयो। पानी पिएर तिर्खा मेट्यो। गम्भिर भयो। उसले सुनेको हो द्वन्द्वकालमा ओखरबोटे काइँला बेपत्ता भएको हो। उसको परिवार दोहोरो चेपुवामा परेर सरकारी पक्ष र बिद्रोही पक्ष दुबैको निसानामा परेको थियो।
त्यसपछि बाँकी परिवार मधेस झर्यो ।ओखरबोटेनी काइँली पिरले थला परेर मधेसमै बितिन् भन्थ्यो। शान्ति स्थापना भएर पनि बस्ने गरि परिवार फिरेन । यति बुझेको हो अजम्बरले। निकै सोचमग्न भयो अजम्बर। अलिक बेर नियाल्यो वरपर घुम्यो झार बढेर कान्ला छोपिएको थियो।बारी बाँझै थियो। खेत भने अरु कसैले कमाउँदो रहेछ। आँगनमा कोहिबेला वस्तु बाँधिदो रहेछ।गोबर सुकिसकेको चिन्ह थियो। सायद त्यो अँधियारले कहिलेकाहीँ यो घर प्रयोग गर्दो हो।उ फेरि बाटो लाग्यो। आठ दस रोपनी त जग्गा जोतखन गरेर बाली लाउने गर्थ्यो। खेत नै डेढ मुरि जाने आहाल खेत थियो जुन अहिले कमाउन दिएको रहेछ।अरु पाखा वन सबै तेह्र रोपनी जति थियो रे बुवा कुरा गरिरहनु हुन्छ। पछि सुनेको छोराछोराछोरीहरू कोहि अरब गए कोहि कोरियातिर उनिहरुले काठमाडौ इटहरीमा घर जग्गा जोडेर उतै बसेका छन्।जेठो कहिलेकाहीँ झुक्किएर सदरमुकामसम्म आउँछ र अधिँयारिसित कुरा गरेर फिर्छ बाबुको कुराले दुखिछ भन्छन् अरु।अब सुबिधा बढ्यो भने आइन्छ कि नत्र त के गर्नु भन्थ्यो रे।बुवालाई फसाउँनेहरु
छाती फुकाएर हिडिरहेका छन् देखेर मन दुखेर आउँछ त्यो छाँया नदेख्दा पनि शान्ति हुन्छ भन्थ्यो रे।यो संसार मनले राज गर्ने रहेछ। मनले नस्विकारेपछि हरेक प्रिय वस्तु समेत अपृय हुने रहेछ।
अजम्बर कुरा खेलाउदै सोच्दासोच्दै अँधेरी डाँडा पुगेछ। अलैंची निकै सप्रेछ।पहिले डढुवा लागेर सकेको बाली अहिले फेरि फस्टायो भाउ पनि फेरि आकासियो। गाउँ बिस्तारै गुल्जार होला। अलैंची हुने पनि पो कति त सदरमुकाम बस्छन् कि मधेस वा राजधानी । कति अस्ट्रेलिया अमेरिका बेलायत जापान आफू चाहिँ गाउँमा जसोतसो बसिएको छ। जन्मी हुर्की गरेको ठाउँ पिता पुर्खाले खनी खोस्री भस्मे खोरिया फाँडेर निर्माण गरेको भुमी कसरी छोड्नु। जे भए नि विदेश गए नि टन्न पैसा कमाए नि सहरमा घर बनाउने भाडा उठाउने आम्दानी हुन्छ।बरु आठोपाँजो जाँदा आफू बस्ने कोठा राख्यो बस्यो
फेरि गाउँ फर्क्यो बस्यो।लु अति जाडोमा मधेस झर्यो अनि गाउँ फिर्यो भै हाल्छ।शरीर स्वस्थ्य भइन्जेल त आच्छा सकिन्छ। सोचेर खुब आनन्द आयो।
बाटोमा घरी घरी चिनेकोहरु नचिनेकोहरुसँग भेट भयो।
आज आफुले ताकेको ठाउँ जाने गाडी आएन एउटा आएको बस्ने ठाउँ थिएन झुन्डेर जानू भन्दा हिड्नु नै ठिक लागेर अजम्बर हिडिरहेको छ। अब त केही छिनमा पुगिन्छ भन्ने लाग्यो। साँच्चै बाँसघारी डालेघाँस सुन्तला बारीले ढाकेको नुनढिकी गाउँ देखियो।उहिले रोडे नुन ढिकीमा कुट्ने घर भएकोले नुनढिकी भएको भन्ने रहेछ। सानो चौतारा रहेछ बाटोमा काठले बनेको घाम डाँडाले छेक्ला छेक्ला गरेर आधी छाँया छ चौतारामा ,हिँडेर हैरान भएकोले अजम्बर छाँया तिर बस्यो।फोन आयो कि भनेर हेर्यो। डाटा खोलेर यसो फेसबुक चलायो बजिर हाङले मेसेज गरेको रहेछ आउदैछु लेख्यो। तलमाथि हेरेर बन्द गर्यो। अघि खिचेको रित्तो घरको तस्बिर भिडियो हेर्यो। फेरि बन्द गर्यो।
पारी डाँडामा कोहिली करायो कुँ हुँ कुँ हुँ वरिपरि अरु सानो गौथली भद्रायो चराहरु उडिरहेको थियो।पोथ्रामा अरु चराहरु पनि वल्लो हाँगा पल्लो हाँगा गरिरहेका थिए।
छेपारो सरङरङ गरेर रातो टाउको उठाएर पारी भित्तामा पुगेर अडियो।तेत्तिनै खेर एउटा दुइसय बिसको पल्सर तिनजना बोकेर धुलो उडाउदै आएर बेपत्ता भयो। बाहुला उठाएर मुख नाक छोप्यो अजम्बरले ,”मुलाहरु मर्छ होला सत्तेनास गरिहाल्यो नि ! छ्या! ” भन्दै थु थु गरेर लामो सास फेर्यो। मास्क बोक्नै बिर्सेछ गोजि छाम्यो भेटेन।
फेरि बाटो लाग्यो। केही छिनमा नुनढिकी पुग्यो। बजिरहाङ उसलाई देखेर अचम्मै खुसी भयो अङ्कमाल गरे एकछिन मजाले हाँसे अनि ठट्टा गरे। अजम्बरको परिचय बाबू आमा र अरु परिवारसित बजिरहाङले गरायो। आमाले खाजा दिनु भयो दुबै मिलेर खाए।एकछिन थकाई मारेर गाउँ घुम्न निस्किए। तरुलको सिजन भएकोले आज टिमुरको अचारसित सिमल तरुल खुब स्वाद आयो । मोहि पनि मीठो रहेछ। अघाएर हिड्दै नयाँ गाउँ घुम्नु अजम्बरलाई रमाइलो लाग्यो।
गाउँको बीचमा वडा कार्यलय रहेछ । मास्तिर डाँडामा सानो पार्क देखियो। अगाडि खेल मैदान रहेछ। त्यसको छेवैमा ढिकिको नुन कुट्दै गरेको प्रतिमा देखियो।यहाँहरुलाई नुनढिकी हार्दिक स्वागत गर्दछ लेखेको रहेछ।
मुनिबाट सिरिजङ्गा लिपिमा पनि लेखिएको रहेछ।
बजिरहाङले बिस्तारै बेलिबिस्तार लाएर सुनायो सबै कुरा गतसालदेखि प्राथमिक तहमा लिम्बू भाषा याकथुङ पान
पढाइ हुँदो रहेछ। हामी डुल्दै घुम्दै उसको काइँली तुम्माको घरमा गयौं । सबै युके लाहुरे रहेछन् ।तुम्बा पेन्सन पाउने बेलायती सेना भएकोले उतै बस्ने रहेछन् ।तुम्मा छुट्टिमा घर आउनु भएको मौका परेछ। यता छोराहरू बुहारी नाति नातिना रहेछन् उनिहरु पनि जाने भनेर प्रोसेसमा रहेछन् ।हामीलाई देखेर तुम्माले “लु बस है आजु कताबाट पो हाउ बजिरहाङ? अनि साथी त को पो?”
एक्कासि तुम्माले सोधी पठाउनु भयो। हामीले सेवारो अर्पण गर्यौँ। “मेरो साथी अजम्बर नि तुम्मा ! उता पातले पाङ्भेको उत्तरे छेउ।”
बस्दै उत्तर दियो बजिरहाङले।
“ए ! अनि के काम सिक थियो र नानी! कि पाङ्लिमा हेर्ने हो यतातिर हे हे । “कटुसको पातमा बेरेको लामपाते सुर्तिको एकसरो धुवा उडाउदै हासिपठाइन् तुम्माले तिनपङ्खे झुम्के बुलाकी तुन्द्रुङ तुन्द्रुङ हल्लियो।
“हैन तुम्मा! साथीलाई भेट्नु पो आको,अब पाङ्ली अहिले नल्याउने बेला आउला पछि पहिले गरिखाने हुनु पर्यो नि” लजाउदै बोल्यो अजम्बर।
ठिक छ त चाजोपाजो मिलाएर मात्रै गर्नुपर्छ नि नानी भन्दै चिया ल्याएर दिनु भयो हामी चिया पिउदै गफियौँ।
फेरि विदा भएर हामी हिड्यौँ। “बजिरहाङ ! अनि घर त फेरि रित्तै हुने रहेछ त तुम्बाको।” मैले अलिक गम्भीर भएर सोधेँ ।पुलुक्क मेरो अनुहार हेर्यो उसले।
“खोइ के पो हाउ चाला त्यस्तै छ।तर कोहि न कोहि त होला यता पनि।” उसले अलिक आश्वस्त पार्दै बोल्यो।
“अरु कति छ यता तेस्तो घरहरु?” मैले जिज्ञासा राखेँ।
“अरु एक दुई घर होला कोहि तराई तिर सुबिधाजन्य सेवा पाउन हिडे कोहि युरोप अमेरिका छोराछोरी गएपछि मधेस गए कोहि काठमाडौ । कोहि जनयुद्धमा हिडेका फिरेनन्।”
निकै दुखी भएर बोल्यो बजिरहाङ। जो बिगत एक दुई बर्षदेखि बसेर भर्खरै गाउँ फिरेको थियो।
“अहिले त सडक आइपुग्यो नि त होइन?” मैले सदरमुकाम जोड्ने ग्राभल सडक देखाएर सोधेँ उसलाई ।
“हो आइपुग्यो। एकाध भारी बोक्ने पिकअप भ्यान र सदरमुकामबाट मान्छे पाउँदा बलेरो आउँछ। अनि गाउँमा दुई चारजनाको मोटरसाइकल छ। बिरामी हुँदा हिउँदमा एम्बुलेन्स समेत आउँछ तेसो त।” उसले भैरहेको सुबिधा बतायो।
“यहाँ पैसावालले गाडी किनेर चलाउदा झन राम्रो हुन्छ।आम्दानीको स्रोत हुन्छ।गाउँकै भाइहरुले रोजगारी पाउछ।
यहाँको उत्पादन अलैंची साग सिस्नो अम्बक जडिबुटी आरु नास्पाती आरुबखडा घिउ छुर्पी पिँडालो फुलतरुल बाँस काठको सामान उखु सखर माछा उँधो मधेश लान सकिन्छ। बिषादिरहित सामानको कत्रो माग छ बजारमा होइन त!” मैले एउटा लामो सूचि तयार पारेर सुनाएँ उसलाई र उसको अनुहारमा एक पटक हेरेँ।
बृजहाङले एकछिन घोरिएर उत्साहित हुँदै बोल्यो। “हो नि यो कुरा पैसा हुनेले बुझे हुने नि साँच्चै।”
“पैसा हुनेहरू नेपालमा जग्गा किन्ने घर बनाउने लाउने खाने मिटर ब्याजमा लाउने यत्ती बाहेक तेत्ती गर्दैनन् ।अरुको लागि त्यत्ती सोच्दैनन् सायद!” निकै गम्भीरता प्रकट भयो होला अनायसै । मलाई पुलुक्कै हेरेर फेरि बोल्यो ऊ।
“ओहो! त्यो धेरै मिल्दो कुरा हो। थोरैले मात्र अरुकोलागि सोचेर काम गर्छ। गाडी किनेर सेवामा हाल्नु उसको पेसागत कुरा भन्दा समाजको अर्थ व्यवस्था निर्माणमा ज्यादा प्रभाव पार्ने कुरा रहेछ नि।यो त हामीले कहिल्यै सोचेनौँ। हामीले त उसले पैसा कमायो मात्रै सोच्यौँ नि।”
आफैलाई तौलेर बोल्यो बृजहाङ।
“कसैले ट्याक्टर नकिनेको भए यो गाउँमा कसरी यत्रो सुबिधा हुन्थ्यो? बिचरा समस्या त्यसको मालिक र चालकले भोगेको हुन्छ। त्यो त अरुलाई थाहा नै हुँदैन। “
मैले हाम्रो गाउँको रघुवीर अलैंची साहुको कुरा मिसाएर भनेँ कारण मैले रघुवीरको कुरा थोरबहुत जान्दथेँ।
बृजहाङले एकछिन सम्झेर भन्यो,” मेरो तुम्बाको छोराले
यो काम गर्दा हुने रहेछ।थुप्रै जग्गा छ हैन त?”
“उसको इच्छाशक्तिमा भरपर्छ। अब हामीले जोरबल गरेर हुन्न।उसको परिवारको भित्री इच्छा युके बस्ने उतै रमाउने सुबिधा भोग्ने हुन सक्छ।युकेमा अहिले आप्रवासन नितिमा
व्यापक परिवर्तन हुनलागेको सुनिन्छ। पहिले गएका लाहुरेहरु समेत सशङ्कित छन्। त्यस्तो राजनैतिक परिवर्तन भयो भने फर्किने आफ्नै देश हो।देश जति महान अरु हुन्न भन्ने प्रमाणित हुन्छ त्यतिखेर।” निकै ठूलो कुरा गरे जस्तो भएर अलिक लाज पनि लाग्यो मलाई । बृजहाङले के भन्ला भैरह्यो। तर खासै नराम्रो प्रतिकृया दिएन। हुनसक्छ सम्म भन्यो। निकैबेर बात मारेर हामी घर
फिर्यौँ। खाना खाएर घरायसी कुरा भयो।बृजहाङले कटुसको एक पोका ल्यायो हामीले छोडाएर खायौं ।
म फर्किनु पर्ने कुरा राखेँ उसले मानेन ।घरका सदस्यहरुले समेत ढिपी गरेपछि म बसेँ। उता घरमा फोन गरेर आज नफिर्ने कुरा आमालाई जानकारी गराएँ।
अपरान्हतिर फेरि हामी अर्को क्षेत्र घुम्न हिड्यौँ। फुलतरुलको खेती बारीभरी थियो। अलिक सुख्खा ठाउँको
फुङखे अति मीठो हुन्छ गुलियो उस्तै। धेरै जसो सुँगुर बाख्रा गाई भैँसीलाई खोले खुवाउने चलन छ। जाँड पकाएर रक्सी पार्ने पैकार गर्ने चलन छ। यसलाई सहरी क्षेत्रमा मौलिक खानाको रूपमा बेचबिखन गर्नुपर्ने आवस्यकता छ । त्यो कम छ मन पर्नेले किनबेच गरेर व्यापार व्यवसाय स्वास्थ्य वृद्धि गर्न सकिन्छ। केही पर पुगेपछि विद्यालय आयो। हामीले विद्यालयको प्राङ्गणमा घुम्यौँ झारले ढाकेको थियो। विद्यार्थी थोरै थिए ।धेरै कक्षा कोठा खाली थियो। नजिकै दलित बस्ती थिएछ।त्यो क्षेत्र मिश्रित जातीय बसोबास भएको समुदाय रहेछ। वैदेशिक रोजगार शिक्षाको पहुँच भएपछि दलितहरू मधेस झरेछन्।
आधुनिक कपडा मेसिनरी सामाग्री बहुराष्ट्रिय कम्पनीको उत्पादन बजार छिरेपछि व्यवसाय घट्यो। विभेद विरुद्धमा समानताको आवाज बुलन्द भएपछि मुक्तिको लागि पेसा स्थान परिवर्तन भयो। त्यसकारण पनि
गाउँ खाली भयो। जसले गर्दा विद्यार्थी स्वाट्टै घट्यो। गाउँ खाली हुनुमा धेरै कारण रहेछ। हामी घुम्दै स्वास्थ्य केन्द्र पुग्यौं । नर्स र स्वयमसेविका रहेछन् । हामीले ज्वरो झाडापखालाको औषधि लियौँ।राम्रो व्यवस्थापन गरिएको रहेछ।ठूलो बिमार भए सदरमुकाम र मधेस झर्नुपर्ने देखियो। जे भएपनि पहिलेको भन्दा सडक शिक्षा स्वास्थ्यको क्षेत्रमा राम्रो काम भैरहेको देखियो। सुन्तला पाकेछ बारीमा हामीले किनेर खायौं सय रुपैँया केजी रहेछ दुई चारवटा तेसै खान दिइन् दिदिले। जङ्गल चराहरुको सङ्गीतले प्रतिध्वनित भैरहेको थियो।
“दुर्गममा सुन्तला नबिक्दा त्यसको सदुपयोगको विकल्प के के सोच्यौं त हामीले अहिलेसम्म ?” मैले प्रश्न हामीले भोगेको समाजलाई थियो। गणतन्त्र प्राप्तिपछिको स्थानीय सरकारले के गर्यो भनेर समेत सोध्न सकिन्छ। संसार डुलिरहेको अहिलेको युवाहरूलाई पनि सोधपुछ गर्न सक्थ्यो यो प्रश्नले।
बृजहाङ अगाडि हिडिरहेको थियो।
“लु यार! यो कुराको समाधान थोर बहुत भएको होला गाउँमा अलिक पर्तिर एउटा उद्योग भर्खरै चलाएको भन्ने छ जाने भए जाउँ फिर्दा साँझ परे अलिक अबेर चाहिँ हुन्छ। जाने हो?”
मैले एकछिन बिचार गरेर हुन्छ जाउँ भनेँ। हामी सानो उद्योग हेर्न माथिल्लो बाटो लाग्यौं। करिब एक घण्टा हिडेपछि पुगियो।
निकै मजाको मलिलो बारी रहेछ। दम्साइलो हराभरा चारैतिर किवि खेती टनाटन रोपेको। किविको माचले एउटा छुट्टै दृश्य निर्माण गरेको रहेछ। छेउमा सुन्तला पनि पाकी रहेको थियो। फक्ताङलुङ रैथाने उद्योग लेखेको सानो बोर्ड झुन्डिएको थियो। बाँसको कलात्मक भाटाले बनेको कोठा रहेछ। बाँसकै प्रयोग गरेर बनाइएको उद्योग क्षेत्रको सानो सानो घर रहेछ। संचालक दिदी मुकुमलुङमा थेगिम विभिन्न संघ संस्थामा समेत आवद्ध रहेर नेतृत्वदायी भुमिकामा रहेको थाहा भयो। श्रीमानको वैदेशिक रोजगारीको सिलसिलामा उतै मृत्यू भएपछि घरमै रोपेको
सुन्तला किविको स्याहार गर्दै परिवारलाई हेरविचार गरेर बिस्तारै निर्माण भएको उद्योग रहेछ। बजार नपाएपछि स्थानीय निकायले प्रदान गरेको तालिमले आफ्नो उत्पादन तयार गर्न प्रेरित गरेको रहेछ।बाँसको आलमारिमा किवि र सुन्तलाको जुस, वाइन ,रैथाने तिनपाने ,
सुकेको सुन्तला किविको चानाको प्याकेट धेरै थोक तयारी सामानको थाक नै देखियो। काम गर्ने कर्मचारी पनि दुई चार जना रहेछन् । बिक्री राम्रै भएको सूचना प्राप्त भयो।
हामी फर्कन ढिलो हुने हुँदा हतार गरेर फिर्यौँ। र्याकमा अरु पनि थुप्रै कुराहरू थिए नजरमा त्यसबारे छलफल गर्न भ्याइएन।
बृजहाङ ब्याचलर सकेर फिरेको हो मेरो बाह्रको अन्तिम वर्ष चलिरहेको छ। गाउँमा बसेर केही गरौँ भन्ने हाम्रो मनसाय हो। उमेरले हामी तलमाथि भएपनि असल साथी हौँ ।हामीमा बनिरहेको हामी भित्रको हुटहुटिले झन् हामीलाई नजिक बनाएको छ।
“गाउँमा सम्भावना त थुप्रै छ बृजहाङ ! अब हामीले त्यो कुरा गहिरिएर सोच्नु पर्ने भयो। के गर्न सकिन्छ होला?” मैले हिँड्दा हिँड्दै आफ्नो मनसाय व्यक्त गरेँ।
“छलफल गरौँ न के गर्न सकिन्छ। अभिभावकसँग पनि सहमति लिनु पर्यो। कम्तिमा योजना सुनाउनु पर्यो हैन त।”
उसले अलिक गम्भीर हुनुपर्ने कुरा व्यक्त गर्यो।
“के के हुनसक्ला त हाम्रो योजनाहरु भनुङ त लु।”
मैले सोधेँ ।
“अब हामिले कागज उत्पादन गर्न सक्छौं लोक्ताको
विभिन्न रैथाने फलफुलको अचार जाम जुस बनाउन सक्छौं । बाख्रा पालन गर्न सकिन्छ। गाइ भैसिको दुधबाट घिउ छुर्पी बनाउन सकिन्छ।” सानो सूची पेश गर्यो उसले।
“अलिक बजार भएको कच्चापदार्थ सजिलोसँग पाइने नयाँ खालको काम गर्दा राम्रो होला हामीले।”मैले प्रभावकारी योजना बनाउन सल्लाह दिएँ।
“तेसो त तितेपाती जतासुकै छ भिरालो पाखामा आफै उम्रेर फैलिन्छ अझै लगाउन समेत सकिन्छ। यसको तेल उत्पादनमा समेत लाग्न सकिन्छ। यो पनि निकै महङ्गोमा बिक्ने औषधि हो।” निकै राम्रो कुरा गर्यो यो पाली उसले।
“अनि काम गर्दा सानो पुजीबाट गर्नुपर्ला त्यसमा अनुभव बटुल्दै जानू पर्यो नसकिने भए थोरै लगानीमा रोक्न सकिन्छ के परिवर्तन गर्दा उद्योग सपृने हो त्यो काम गर्न सकिन्छ।पर्ख र हेर गर्नु राम्रो होला ।”मैले गाउँमा बुज्रुक व्यापारीहरुको अनुभव यहाँ राखेँ जुन बृजहाङले औधी मन परायो।
बोल्दाबोल्दै उबडखावड बाटो कतिबेला पार गरियो पत्तै भएन।
साँझमा जङ्गलभरी चराहरु कराउन थाले । लाटकोसेरो उहुँ उहुँ कोत्याकत्याकत्याक … गर्दै थियो। झ्याउँकिरी एकोहोरो किरिरिरिरी गरेर कान खाइ रहेको थियो। बाँदरहरु पनि बाझिरहेका थिए।
हामी झपक्कै साँझमा घर पुग्यौं ।
घरमा हामीलाई पर्खेर बसिरहेका रहेछन् । “अनि आज तरेबासँग धान नाच्ने हो है।” उता कुनाबाट महिला स्वर आयो।
“खाना सिक खावो है तेसपछी नाच्नु नि।” बृजहाङको आमाले भन्नुभयो।
खानाको सुरसार भयो।लोकल कुखुराको सुप गजब स्वादिलो। रायोको साग टिम्मुरको अचार मनै हर्ने जिब्रोमै झुण्डीरहने स्वाद गजबसँग खाइयो।
हात धुनु धारामा गएको तरेमा त लु तरेबे म हुँदा हुँदै किन पो यत्ती दुख भनेर हात समाती हालिन्। हाम्रो गाउँको लोकल साबुन छ मगमग बास्ना आउने भनेर समातेर तीखो ढुङ्गाले पिल्सिने गरि दलदाल पारेर अर्कि तरेमाले पानी खन्याइन्। वरिपरिबाट मेम्बे तेतिसारो मेजमान नगर त तरेबालाई भन्दै गुटुङ्टुङ हाँसी पठाए।हात खुस्काउनु कम जोड गरेको होइन दुई दुईजना धुरिएपछि मैले छोडिदिएँ।लुगामा पनि पानी परेछ यसो पुछपाछ गरेर आँगनमा आइयो। तरेमाहरुले छोडे पो!, अब सुरु गरे पालाम गाउँन
गुडैमा घुर्छ परेवा:न्
चिनजानी गरौँ तरेबा:न्
ए!
फक्ताङ्लुङ यो:नु ताप्लिजुङ
पान्थरै केयुङबाङ: पापोहाङ
ए!
दुहुना भैंसी पेवा है
आदाङ्बे हजुर सेवा है
ए!
अलैंची बारी हिम्थो ओ:
हजुरको माया लुङ्गमा:ओ
ए!
अलैंची स्यारो रोगैले
तुम्नाबा तरेबे: जोगैले
ए्!
सिलिली माछा खोलामा
नछुट्ने बाचा कन चोलामा
…….
अरु थुप्रै पालाम भनियो गाइयो।
रातभरी नाचियो, भुकभुके उज्यालो भयो। भुईसोरी सेवारो गरेर फेरि भेट्ने बाचासहित छुटियो।हल्का टाउको भारी भइरहेको थियो। निद्राले आकुलव्याकुल भएको म भित्र पसेर खाटमा पल्टिएँ। खाना खान उठाउदा दस बजेको रहेछ । हात मुख धोएर खाना खाइयो। बल्ल हल्का महशुस भयो। म बेलुकातिर मात्रै फर्किने कुरा घरमा जानकारी गराएँ।
बृजहाङसँग अर्को गाउँ हेर्न जाने निधो भयो। हिँड्यौ करिब एक घण्टा हिँड्दा हाम्रो योजना माथि गहिरो छलफल भयो। निकै सोचबिचार गरियो। पाखाबारी जुन जुन छोडिएको छ त्यसमा पिकानट लगाउने निधो गर्यौँ। सकिन्छ भने आम्दानी नभइन्जेल सित्तैमा र आम्दानी भएपछि रोपनीको यति दिने भनेर सर्तबन्ध गर्ने निधो भयो।तितेपातिको तेल बेच्न सकिने भएकोले तेल उत्पादन गर्ने निर्णय भयो। हामीले आफनै योजनामाथि सयौं प्रश्नहरु गर्यौँ।निर्मम समिक्षा गर्यौँ।
एक घण्टा उकालो ओरालो हिडेपछि एउटा दक्षिण फर्केको पाटो देखियो। केही घरहरू थिए झोडी भित्र अलिअलि रातो खियाको रङ्गको छाना देखिन्थ्यो। डाँडामा एकछिन थकाइ मार्यौँ। आँखाले देखिन्जेलको पाखा थियो सुन्तला कागती फलेर पाकेको झरेको थियो चारैतिर ।केराको बोटहरु पनि थियो। खेतको आलि घारी भित्र देखिन्थ्यो।
थकाइ मारेपछि पाखा घुम्न झरियो। बँदेल हिडेको डोबहरु थियो। हेर्दै जाँदा घरसम्म पुगियो। घरको आँगन सिकुवा कुनाकानी सब बँदेलको गुँड रहेछ खनी उधिनी भुतभुती खेली बच्चा जन्माई हुर्काई गरेको देखियो। बाँदर मृग बँदेलले खेतीको बाली उठाउन नदिएपछि छोडेर हिडेछन्।
आठ दस वर्ष भएछ यो बन्जर भएको । अलिक तल ओर्लिएर खेत बारी खोल्सा जङ्गल घुम्यौँ। पानी बगेर तेसै खेर गैरहेको रहेछ। तितेपाती हुर्केर जङ्गल भएको देखियो।
घर धनी वन्यजन्तुको आक्रमणबाट बाली जोगाउन नसकी सरेको भन्ने भनाई छ। अरुहरु सुविधाजनक स्थानतिर गएको कोहि स्वास्थ्य शिक्षाको सुलभताको लागि हिडेको देखिए पनि यो घटना फरक थियो। यो स्थानलाई उर्बर बनाएर घरधनीलाई फर्काउन वा यस क्षेत्रमा नयाँ काम गर्न
कसरी सकिन्छ भनेर बृजहाङ र मैले थोरै छलफल गर्यौँ यद्यपि त्यो पर्याप्त थिएन। बाँदरले नखाने कुनै अन्न छैन बँदेल नलाग्ने हो भने तरुल खेती गर्न सकिन्छ।काठमाडौमा तरुलको अति धेरै बजार छ।भारतबाट करोडौंको तरुल आयात भैरहेको छ । तरुलबाट अन्य तयारी खाद्यान्न बनाउन सकिन्छ। जुन बजारमा बिकिरहेको छ अहिले सखरखण्डको पौष्टिक महत्त्व अरु भन्दा ज्यादा छ। कटुस प्रजातिको खेती गरेर आय गर्न सकिन्छ जुन बाँदरले असर गर्दैन। अकबरे खोर्सानी खेती पनि बाँदर लाग्ने ठाउँमा गर्न सकिन्छ। पशुपालन गरेर दुधजन्य उत्पादन छुर्पिको बिक्रीबाट राम्रो उत्पादन गर्न सकिन्छ। सबभन्दा राम्रो टिमुर खेती गरेर बिक्रीवितरण गरि वा अचार बनाएर आम्दानी गर्न सकिन्छ। सक्दा चिया रोपि अर्ग्यानिक चिया उत्पादन गरेर नाफा कमाउन सकिन्छ त्यो काम चाहिँ अलिक धेरै लगानी लाग्ने प्राविधिक ज्ञान आवस्यक पर्ने देखियो। यस बारेमा बसेर योजना बनाउने निधो गर्यौ हामिले। खेतबारी घर सबै घुमेर हामी फिर्यौँ।
म फिर्ने बेला हिड्दै गर्दा एउटा पिकअप आयो त्यसैमा फिरेँ। दिनभरी एक किसिमको तनाव भैरह्यो। सल्लाह गरेर आइयो।पुँजी छैन कसो गर्ने होला। घरमा काम गर्यो काममा त्यति मन बसेजस्तो हुन्न। चिया पकाउनु भएछ आमाले बोलाउनु भयो “ए! ठुले चिया सिक खानु आइज
है।”
बाक्लो दुधको चिया ठुलो ग्लासमा मजाले पिएपछि आनन्द भयो।
“तल बारीमा गएर तरुल सिक खुनेर ले हाउ ठुले खाजाको लागि आइले तिम्रो बाउ भोकले हैरान भएर आउँछ।भोलि अलैंची गोड्ने खेतालालाई नि चाइन्छ है।”
चिया पिउदै आमाले कामको मेलो बताइन् ।
“कुन हाउ सिमले कि अर्को हो खन्नु पर्ने?” तरुल थुप्रो खालको थियो स्पष्ट पार्न मैले सोधेँ ।
“घर तरुल खुन्दा नि हुन्छ नत्र फुङ्खे खुन्नु।” कुन तरुल कहिले खन्ने आमालाई थाहा हुने भएकोले आमाको निर्णय आयो।
“जाँड चि कस्तो भो नि ?आज चाहिँ तोङ्बा खानुपर्ला आमा!” पाहुना जाँदा नि खाइएन आज तलतल भएर सोधेँ मैले।
“मीठो छ हिजु बाउले चाखेको ठिक छ रे!” आमाको सफाई आयो।
म खन्ती कोदालो डोको बोकेर ओरालो लागेँ। दुई गह्रा सिमलतरुल छिप्पेर लहलह थियो। बीस बोट जतिघर तरुल छेउतिर थियो। लहरा टाँकीमा फैलिएर पहेलो भएको रहेछ। अर्को गह्रामा सखरखण्ड त्यसपछि पिँडालो फुलतरुल गरेर पाँच गह्रा जति थियो। नजिकै सिमि मुला कोपि साग धनिया हुर्किरहेको थियो। यसो हेरेर घर तरुल छेउको बोट खनेको निकै गहिरो भासिएको रहेछ।बल्ल बल्ल निस्कियो झण्डै दस केजि जति रहेछ। भेट्नोदेखि पाँच इन्च जतिमुनि हसिँयाले काटेर छोडियो सेतो तरुल खाउँखाउँ लाग्दो। घसेउटा झारपात सोहोरेर खाल्डा पुरेर त्यो बीउ त्यही गाडी दिएँ। घर तरुल सेतो पहेलो निलो रङको हुन्छ। पहेलो चाहिँ अरु भन्दा कम मीठो हुन्छ। कुनै तरुल जमीनको माथिल्लो कमलो माटोमा मजाले फल्छ अलिक भुन्टे डल्ले हुन्छ कुनै गहिरो जाने पाताले हुन्छ। जुन खन्न गाह्राे हुन्छ। चिनियाहरुले प्लास्टिकको बोरामा बाहिरै वा जमिनको सतहमा मल माटो राखेर फलाउने गर्छन् ।
फुल तरुल खन्न म अर्को कान्ला झरेँ। अलिक सुख्खा ठाउँमा गएर खनेको निकै राम्रो गरि झ्याँगिएको रहेछ। निकै जोड लाएर खन्नु पर्यो चारबोट खन्दा बीस केजि जति आयो आजलाई पुग्यो। सुख्खा ठाउँको फुङखे अरुतिरको भन्दाअलिक मीठो हुन्छ। मोबाइल स्टेण्डमा राखेर भिडियो बनाएको हुनाले अलिक छिटो खन्नु पर्यो नत्र फेरि भिडियो लामो हुन्छ ग्यालरीमा हेरेको भिडियो राम्रै आएछ।
भारी लाएर उकालो हिडियो निकै गह्रुङ्गो भएछ भारी बिस्तारै हिडेर उकालो काट्नु पर्यो। अस्ति एकखेप रोडामा चिप्लेर घोप्टो लड्दा घुँडा पिल्सिएको थियो। आज जोगिएर हिडेँ।
धारामा तरुल पखालेर केलाइवरी आमालाई जिम्मा लाएँ।
एक घन्टामा बुवा आइपुग्नुभयो। आमाले तरुल पकाएर खान ठिक पार्नु भएछ। हर्हर बास्ना आएको घर तरुल टिमुरको अचार खुब स्वाद भयो।
आज विद्यालयमा आइयो सरसँग पहाडमा किन बसाइँसराइ तिब्र भयो यसको विकल्पमा के गर्न सकिन्छ भनेर छलफल गरियो। यो सम्बन्धि एउटा वार्ता नै राखौं न सर भनेर सम्वाद समूह निर्माण गरियो।
स्थानीय निकायले जनताको शैक्षिक स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न उच्च शिक्षालाई पालिकाको मध्यबिन्दुमा स्थापना गरि लागू गर्न सकिन्छ। नभएपनि सदरमुकाममा स्नातकोत्तर कक्षा अनिवार्य सन्चालन गर्न पर्ने हुन्छ। स्वास्थ्यको अवस्था सुधार गर्न वाडमा हेल्थपोष्ट नर्स अहेव सहितको हुनुपर्छ । पालिकाको मध्य क्षेत्रमा ईलाका हेल्थपोष्ट एमबीबीएस सहितको अस्पताल र सदरमुकाममा एमडी सहितको अस्पताल रहनु आवस्यक हुन्छ। जनतालाई आपतकालीन एमबुलेन्स सेवा बिमा सेवा सुत्केरी आमाकोलागि हरेक सदरमुकाममा बसेर उपचार गर्न मिल्ने अगृम बास सेवा पालिकाले उपलब्ध गराउन आवस्यक हुन्छ जसले जनतालाई दुर्गममा बस्न सुरक्षा प्रदान गर्छ । आजको छलफलमा हामीले यो निस्कर्ष निकाल्यौं।
मैले बृजहाङलाई यो बिचारको कुरा मेल गरिदिएँ। हामीले पालिकामा यो कुरा प्रस्तावको रूपमा लैजान सल्लाह गर्यौं
वडाअध्यक्षलाई भेटेर भनियो।तपाईंले यो काम आफ्नो पालामा गर्नुभयो भने जीवनभर मानिसहरूले सम्झनेछन् ।
काम गरेन भन्नेलाई जवाफ हुनेछ यो। के कति अहिले गर्न सकिन्छ त्यो गर्ने बिस्तारै गर्न सकिने बिस्तारै गर्ने भनेर हामीले वडामा छलफल गर्यौँ । उहाँहरु गम्भीर हुनु भयो।
आउने मिटिङमा पालिकामा प्रस्ताव लाने प्रदेश केन्द्रमा समेत लगेर यो काम गर्ने उनिहरुको वाचा भयो। बृजहाङले पनि आफ्नो वडामा यो कुरा राखेको जानकारी आयो। आश्वासन राम्रै पाएको बतायो उताबाट पनि।
बाँदरले मकै खाएर वाक्क लाएपछि आमाले दिक्क मान्दै कराउनु भयो,”यो बाँदर खेद्ने कुनै उपाय सिक छैन हाउ वाक्कै पो लाई पठायो बल्लतल्ल पाकिगोको माकी सकिकी गो नि ए! युमा माङ्गे!”
आमाको गनगनले मेरो दिमागमा बत्ती बल्यो अस्ति बृजहाङले भनेको कुरा याद आयो, “लु आम्मै त्यो अस्तिको सिद्रा लेउ त म यसो मेन्जो थिक गर्नु पर्यो कि भागी पो हाल्छ कि ।”
“उस! नाम्सु रो! सिध्राले चि कसोरी भाग्छ ? लु नपत्याउ।”आमाले लामो बुलाकी हल्लाउँदै खोसेलामा बेरेको लामपाते सुर्ती अगुल्ठोमा आँखा चिम्म गर्दै झोसिन्।
“अब गरुङ्न बा भैहाल्छ कि हैना!”
मैले विस्वस्त पार्ने कोशिस गरेँ। वास्तवमा मलाई नै थाहा थिएन यो सत्य हो होइन। प्लास्टिकको झोला खोजेर सानो सानो पोका बनाएर डोरिले बाँधेँ ।सिध्रा कम भएपछि मकै पिठो रोटि आदि खानामा सिध्राको धुलो मिसाएर पोका पारेर तिसवटा पोका बनाएँ। बारीमा लगेर बाँदर आउने गौँडामा बाँदरले देख्ने भेट्नेगरि पोका झुन्ड्याएँ। पोका खोल्न सजिलो होस भनेर खकुलो थियो। कति पोका खुल्लै राखियो। निकै बेरपछि एक हुल बाँदर देखापर्यो। वरिपरि हेर्दै रातो म्याकक बाँदर बीस पच्चीसको समुहमा आयो। वरिपरि पोका देखेर निकै ध्यानसँग हेर्यो। बिस्तारै
पोका छेउ आएर क्रमशः पोका छुने खोल्ने च्यात्ने कोशिस गर्यो।भित्रको सिध्रा भेटेर पक्डेर सुँघ्यो । गन्ध मन नपरेर हुत्यायो हातले जिउमा दल्यो।फेरि सुँघ्यो फेरि दल्यो। मुख भुइँमा रगड्यो। रिसायो फेरि सुँघ्यो फेरि जिउमा हात दल्यो
अरुले नि तेसै गरे हात मुख दल्दै चाँचाँ चुँचुँ गर्दै खेदाखेद गर्दै रुख चढे आज मकैबारी पसेन बाँदर। म एक घण्टा बितेपछी घर लागेँ। भोलिपल्ट सिद्राको घोल बनाएर मकै बारी छेउमा बिचमा छिर्कन गरेर घर फिरेँ यो पाली बाँदर तेति लागेन ।आमा पनि खुसी हुनु भयो।
आउने महिना फुटबल खेल आयोजना गर्नका लागि म पल्लो गाउँ जाँदै थिएँ बाटोमा साथीहरु बसेर गफ गरिरहेका रहेछन् । उनीहरुको कुरा सुनेर थाहा भयो बाँदर धपाउन स्थाइ रूपमा घाँस लाउन सकिने रहेछ।एक दुई साथिले लाइसकेको रहेछ। बादरे घाँस खासमा मोलासिस भनिदो रहेछ। छिप्पिएपछि यसको गन्ध निस्किने जुन बाँदरलाई मन नपर्ने रहेछ।पातमा लिसाइलो तत्व रहने हुनाले त्यो घाँस छुने बित्तिकै शरिरमा टासिने रहेछ घाँसलाई उक्काउन बाँदरले अनेक प्रयास गर्ने कन्याउदा नगएर हैरान भएर भाग्ने दुख पाउने भएकोले फेरि नआउने रहेछ। यो काइदा गजब लाग्यो।यो घाँस तुरुन्तै लाउने र प्रचारप्रसार गर्न समिती निर्माण गर्ने आदि काम गत्ने पनि निधो भयो। बाँदर धपाउ अभियान बाँदरे घाँसको कमाल नारा राखियो।यो घाँसले भुक्ष्य रोक्ने हरियाली हुने गाइवस्तुलाई घाँस हुने बहुगुणी घासको अभियान तिब्र पारियो।
रोपेको दुईचार वर्षमा बाँदरको ज्यादती धेरै कम भयो।
जङ्गलमा वर प्रजाति काफल जामुन जंगली केरा आदि फल लाग्ने रुखको संरक्षणमा जोड दिने अभियान चलाइयो। वडामा यो प्रस्ताव पेश गरेको केही महिनामा वडाले अरु वडामा काम गर्न पालिका स्तरीय कमिटी बनायो। जसले घरेलु फलफूल समेत जङ्गलमा रोप्ने निर्णय गर्यो। सुख्खा मौसममा फलफुल नफलेको बेला जङ्गलमा अन्न लगेर ढुङ्गामा राखिदिने काम वडाले गरेको हुँदा बाँदर
उतै भुलियो। बाँदरलाई छेकेर अन्न दिएर मात्र नहुने भएकोले संख्या घटाउन बन्ध्याकरण गर्ने अभियान पालिकाले चलायो। त्यसको लागि ठूलो तारको खोर बनाएर खाना राखेर समातियो। धेरैलाई मानव वस्तिदेखि टाढा लगेर छोडियो।
आशिषको बुहारी सुत्केरी हुन मात्रै पन्ध्र दिन बाँकी थियो।नर्सले सदरमुकाम लानु भनेकोले हामिले हप्तादिन अगाडि फेदेन झार्यौँ। दुर्गम पालिकाको अझ ओझेलमा परेको वडा भएकोले पालिकाको एमबुलेन्समा सदरमुकाम लगियो। पालिकाको बिरामी स्याहार घर भाडामा लिएकोले बिरामी त्यही कोठामा राखियो।बेथा लागेपछि अस्पताल लगेर हप्तादिनमा घर ल्याइयो अहिले आराम छ। यो काम पालिकाले अगृम रूपमा गरेकोले सजिलो भयो।हाम्रो योजना सफल भयो खुसी लाग्यो।
बारीतिर गएको दुईवर्ष अघि ल्याएको पिकानट लटरम्म फलेछ। यो सबै बीउ राखेर बिरुवा लगाइने बृजहाङ सँगको सल्लाह छ। पालिकामा “फलफुल रोपौँ आम्दानी बढाउँ” प्रस्ताव लगेको स्वीकार भएर यो बर्खा पिकानट किबि एभोकाडो अनार अम्बक सुन्तला दाँतेओखर बुद्धिचित्त जुनार नास्पाती आरुबखडा विभिन्न पकेट क्षेत्रमा वितरण गर्ने योजना छ।
हामीले अलिक तल्लो भेगमा एभोकाडो बुद्धिचित्त सुन्तला
अम्बक नास्पाति जुनार त्यसरी नै क्रमश किबि पिकानट माथिल्लो भेगमा दाँते ओखर स्याउ लगाउने भनेर “गाउँ नै राम्रो फलफुल खेती” कम्पनी पालिकामा दर्ता गरेका छौँ ।
गाउँ छोडेर हिँडेका घर खोजेर उनिहरुको घर बारीलाई सदुपयोग गर्ने गरि उनीहरुको सम्पति संरक्षण हुने गरि काम गर्ने निधो गरेका छौँ । सुरुमा हामी कुनै भाडा नदिने सर्तमा काम गर्छौ। हाम्रो हिसाब पारदर्शी रहनेछ कम्पनी नाफामा गएपछि मात्रै नाफामा जग्गा मालिकको र हाम्रो हिस्सा बराबरी हुनेछ। पचास बर्ष जग्गा मालिकले जग्गा फिर्ता लान नपाउने सर्त छ। नाफामा गएपछि जग्गाको भाडा समेत प्राप्त गर्ने छ। त्यो नाफाको 5% रहनेछ। बीचमा जग्गा फिर्ता लान परे सबै खर्च ब्याज सहित जोडेर थप ४०% थप गरि फिर्ता लान सक्नेछ ।
स्थानीय सरकारले स्थानीय सडक सन्चालनमा व्यापक स्तरोन्नति गर्यो। हामीले “गाउँले बँदेल सुँगुर फार्म” भनेर बँदेल र सुँगुर फार्म नै खोल्यौँ। स्थानीय पाख्रीबासे र बदेलको क्रस गरेर अरु उन्नत जात उत्पादन गर्न तीन बेतपछि कुर्नुपर्यो त्यो अरु उन्नत देखियो। असली बँदेलको पालनले पनि निकै फाइदा भयो। प्यालेट दाना र धुलो दाना बनाउने मेसिन राखेर स्थानीय डाले घाँसपात सबैको दाना बनाइयो।बङ्गुर सुँगुर बदेलको मासु खपत राम्रो भयो।
गाउँमा बसेर काम गरिरहेका कवि लेखक पत्रकार व्यवसायी उद्यमिको आज वडामा भेला थियो। बृजहाङ चोङबाङ र अजम्बर शेर्मालाई गाउँमा उनीहरुले गरेको अनुकरणीय कार्यको लागि सम्मान कार्यक्रम राखिएको थियो।रित्तो हुँदै गरेको गाउँमा नयाँ जोस उभार ल्याउन गाउँमा बसेर काम गरेको महत्वपूर्ण कार्यलाई मध्य नजर गर्दै सम्मान कार्यक्रम राखेको थियो। ब्यानरमा लेखिएको थियो। “गाउँको माया गर्नेलाई हाम्रो माया”
कार्यक्रममा अजम्बरले एउटा गीत गायो
फर्क ठुले अहिले त गाउँमा बाटो आको छ
पिच पनि आउला पछि अहिले ग्राभल भाको छ
तिम्ले छोड्दा खोला थियो अहिले पुल लाको छ
फर्क ठुले गाउँमा जनताको मान्छे मेयर भाको छ
तिमी पढ्ने सानो स्कुल अहिले मावि भाको छ
फर्क ठुले अहिले त गाउँमै सानो हेल्थपोस्ट आको छ
पाखा बारि खनी खोस्री दाँते ओखर लाउँला
सागसब्जी अमृसो उखु बेचि आम्दानी गरौँला
गाउँकै गाडी चढि अन्न बेच्न मधेस झरौँला
पख ठुले साग बेचेरै हामी एउटा मोटर किनौँला
हुन्छ भन मात्र तिमी म गाउँमा एभोकाडो रोप्छु
हेर मात्र ठुले यो देशको दुख परिश्रमले छोप्छु
ओहो! यो गीत सुनेर कति त धरधरी रोए। धेरैले कस्तो राम्रो गीत भने। अजम्बर गीत लेख्ने गाउने गर्ने कुरा थोरै त थाह थियो तर यति राम्रो गीत लेखेर गाउँछ कसैले सोचेकै थिएन। बृजहाङ र अजम्बर गाउँमा बस्नुपर्छ भन्ने नमुना नै भए। उनिहरुले परिवर्तन गरेको रित्तो घर आज मानिसहरूले भरिएको छ। बाटो राम्रो भएपछि घुम्ने बास बस्ने आउन थाले उनीहरुले उत्कृष्ट उद्यमी पुरस्कार समेत पाए। फेसबुक युटुबमा उनिहरुको पशुपालन ,सागसब्जी, फलफूल, अलैंची ,तरुल, रैथाने पेयपदार्थ, गाउँ घरबास आदिको भिडियो भाइरल भैरहेको थियो।
धेरैले रोजगार पाएका थिए। नानीहरू गाउँकै विद्यालयमा पढिरहेका थिए। सायद आज पनि कोहि कृषि फर्म घुम्न आयो भालु कुकुर भुक्न थाल्यो।










