|
958 SHARES |
बिर्तामोड । बिर्तामोडबाट प्रकाशित यलम्बर साप्ताहिकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा ‘खुवालुङ’ विशेषाङ्क सार्वजनिक गरेको छ। म्यागजिन स्वरूपमा प्रकाशित विशेषाङ्क शुक्रबार बिर्तामोडमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो।
विशेषाङ्कको संयुक्त रूपमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्री इन्द्र आङ्बो, अर्जुनधारा नगरपालिकाका पूर्वप्रमुख हरिकुमार राना, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय परिषद्का उपाध्यक्ष अर्जुन जमनेली राईले विमोचन गरेका थिए।
सम्पादक दिपिन राईका अनुसार इतिहास, संस्कृति र पहिचानसँग जोडिएका विषयलाई उजागर गर्ने उद्देश्यले ‘खुवालुङ’ विशेषाङ्क प्रकाशित गरिएको हो। उनले किराँत समुदायको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत महत्वलाई विशेषाङ्कमा समेटिएको बताए। यलम्बर साप्ताहिकले यसअघि ‘मुक्कुमलुङ’ विशेषाङ्क पनि प्रकाशित गरिसकेको छ।
कार्यक्रममा लेखक कुमार भट्टराईले विशेषाङ्कमाथि समीक्षा प्रस्तुत गरेका थिए भने समाचार प्रमुख लीला राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन्। कार्यक्रमको सञ्चालन सहसम्पादक राजन साम्पाङले गरेका थिए।
सो अवसरमा लेखक तथा साहित्यकार देशु वनेमलगायत वक्ताहरूले ‘खुवालुङ’ विशेषाङ्कले इतिहास, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।










