|
781 SHARES |
झापा । देशभर मनसुन सक्रिय बन्दै जाँदा आज र आज राति पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले देशभर बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
आज राति पनि देशभर मनसुनको प्रभाव कायम रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेस र बागमती प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।
यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।










