|
680 SHARES |
झिलझिले । तत्कालीन सतासीधाम उद्योग वाणिज्य सङ्घ र शिवगञ्ज उद्योग वाणिज्य सङ्घ गाभिएर बनेको शिवसताक्षी उद्योग वाणिज्य सङ्घले आफ्नो इतिहासमै पहिलोपटक सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा नगरका स्थापित तथा सफल हार्डवेयर व्यवसायी अग्नि प्रसाद दुलाल निर्विरोध चयन भएका छन्। मर्जपछिको पहिलो सर्वसम्मत नेतृत्व चयनलाई उद्योगी–व्यवसायीहरूले सङ्घको एकता, परिपक्वता र साझा प्रतिबद्धताको ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।
निर्वाचन समितिले निर्धारित निर्वाचन कार्यतालिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी शनिबार सङ्घको कार्यालयमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको जनाएको छ। सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
सार्वजनिक नामावलीअनुसार सङ्घको अध्यक्षमा अग्नि प्रसाद दुलाल, वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोध कुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्र कुमार शाह तथा कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बास्कोटा र सरस्वता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष दुलाल शिवसताक्षी नगरपालिका–११ दुधेमा लामो समयदेखि हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका स्थापित व्यवसायी हुन्। व्यवसायिक इमान्दारिता, कर्तव्यनिष्ठा र शालीन व्यवहारका कारण उनी उद्योगी–व्यवसायीमाझ विश्वासिलो व्यक्तित्वका रूपमा परिचित छन्।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय दुलालले लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। सामाजिक सेवाका विविध अभियानमा उनको सक्रिय सहभागिताले नगरमा छुट्टै पहिचान बनाएको छ।
नेपालका विभिन्न जिल्लाका साथै विश्वका आधा दर्जनभन्दा बढी मुलुकको भ्रमणबाट उनले हासिल गरेको व्यवसायिक अनुभवलाई स्थानीय उद्योग–व्यापारको विकासमा उपयोग गर्ने सोच राख्दै आएका छन्। स्थानीय व्यवसायीका अनुसार उनी शिवसताक्षी नगरपालिकाका अग्रणी व्यवसायीमध्ये एक हुन्। व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा पुर्याएको योगदानका कारण उनी नगरको व्यवसायिक क्षेत्रमा स्थापित नाम बनेका छन्।
निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधिपूर्वक निर्वाचन प्रक्रिया सम्पन्न गरी निर्वाचन कार्यतालिकाअनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरिएको बताए।
निवर्तमान अध्यक्ष यामनाथ काफ्लेले सतासीधाम उद्योग वाणिज्य सङ्घ र शिवगञ्ज उद्योग वाणिज्य सङ्घ मर्ज भई शिवसताक्षी उद्योग वाणिज्य सङ्घ गठन भएपछि पहिलोपटक सर्वसम्मत रूपमा नेतृत्व चयन हुनु ऐतिहासिक उपलब्धि भएको बताए।
शनिबार सर्वसम्मत प्रक्रियाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू हालसम्मकै उत्कृष्ट र सन्तुलित टोली रहेको उल्लेख गर्दै उनले यो नेतृत्वले नगरका उद्योगी–व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे।
‘शिवसताक्षी उद्योग वाणिज्य सङ्घ अब रचनात्मक र अनुकरणीय हिसाबले जिल्लामै फरक क्षमताका साथ अघि बढ्नेछ,’ उनले भने।
नवनिर्वाचित नेतृत्वबाट आगामी चार वर्षमा व्यवसायीका साझा समस्या समाधान, निजी क्षेत्रको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा शिवसताक्षी नगरको आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा उद्योगी–व्यवसायीहरूले गरेका छन्।










