झापा। चालु वर्षको वैशाख १ गतेदेखि साउन २ गतेसम्म नेपालभर भएका विभिन्न प्राकृतिक विपद्का घटनामा १६४ जनाको मृत्यु भएको छ। यस अवधिमा ३ हजार ३ सय ८९ वटा विपद्जन्य घटना हुँदा ९ सय ८१ जना घाइते, एक जना बेपत्ता र ४ हजार ५ सय ५ परिवार प्रभावित भएका छन्।
उपलब्ध तथ्याङ्कअनुसार सबैभन्दा बढी ३९ जनाको मृत्यु सर्पदंशबाट भएको छ। त्यसपछि चट्याङका कारण २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ तथा हावाहुरी र पहिरोबाट १३–१३ जनाले ज्यान गुमाएका छन्।
यस्तै, बाढीबाट १०, भारी वर्षाबाट ४, ढुङ्गा पल्टिएर २ तथा वन डढेलो र हिउँ पहिरोबाट १–१ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।
विपद्का कारण प्रभावित परिवारमध्ये सबैभन्दा बढी १ हजार ३ सय ५६ परिवार हावाहुरीबाट प्रभावित भएका छन्। आगलागीबाट १ हजार परिवार प्रभावित हुँदा सर्पदंशबाट ५ सय ३३, जनावरको आक्रमणबाट २ सय ९६, चट्याङबाट २ सय ७५ तथा लेक लाग्ने घटनाबाट ५४ परिवार प्रभावित भएका छन्।
मनसुन सक्रिय भइरहेका बेला विपद्का घटनामा उल्लेख्य मानवीय तथा भौतिक क्षति भएको देखिएकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन र नागरिकलाई जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।










