झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति झापाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठकले ७९९ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै नवनिर्वाचित सदस्यहरूलाई सपथ गराएको छ।
नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सह–इन्चार्ज सावित्रीकुमार काफ्ले ‘समर’, प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’सहित केन्द्रीय तथा प्रदेश तहका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले वर्तमान सरकारप्रति जनविश्वास घट्दै गएको दाबी गरे। उनले सुकुम्बासीमाथिको सरकारी व्यवहार र सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलगायतका विषयले जनतामा असन्तुष्टि बढाएको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिबीच सहकार्य र वाम शक्तिको एकता आवश्यक रहेको बताए।
कोशी प्रदेशको राजनीतिक सन्दर्भ उल्लेख गर्दै उनले आफ्नो पार्टीले अब मुख्यमन्त्री पदमा दाबी गर्ने धारणा राखे। ‘अब मुख्यमन्त्री हाम्रो पार्टीले पाउनुपर्छ,’ उनले भने।
प्रदेश सरकार गठनका विषयमा पार्टीले हालसम्म कुनै अन्तिम निर्णय नगरेको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ले बताए। प्रदेशमा राजनीतिक अस्थिरता बढे स्थायित्वका लागि आवश्यक शर्तसहित सत्ता साझेदारी गर्न पार्टी तयार रहेको उनको भनाइ थियो।
प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै नेता–कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय र सङ्गठित हुन निर्देशन दिए।
बैठकले ७९९ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक खड्क तिम्सिना ‘पवन’ले गरेका थिए भने सञ्चालन बीपी भट्टराईले गरेका थिए।
पार्टीका प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतका अनुसार नेकपा (ओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी घटकबीच २०८२ कात्तिक १९ गते एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो। पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् भने निर्वाचन चिन्ह ‘तारा’ रहेको उनले जानकारी दिए।
उनका अनुसार पार्टीको एकताको सन्देश जनस्तरसम्म पुर्याउने, संगठन सुदृढ गर्ने उद्देश्यले एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। साथै केन्द्रीय समितिले पार्टी नियमावली र आचारसंहिता–२०८३ जारी गरिसकेको तथा अनलाइनमार्फत सदस्यता नवीकरण र वितरणको कार्यसमेत भइरहेको जानकारी दिइएको छ।










