झापा । भारतीय पक्षले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि झापाका सम्पूर्ण चिया उद्योग भोलि (बिहीबार)देखि बन्द हुने भएका छन्। उद्योग बन्द भएसँगै करिब ६० हजार कर्मचारी तथा मजदुर प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्।
नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीका अनुसार मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ एसओपीका कारण नेपालबाट भारततर्फ चिया निर्यात लगभग ठप्प बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै झापाका सबै चिया उद्योग बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
झापामा हाल एउटा सरकारी र चारवटा सहकारीसहित ३२ वटा चिया उद्योग सञ्चालनमा छन्। यसअघि नै इलामका ५३ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पराजुलीले नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँसम्म पुग्ने जानकारी दिए। तीमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको र त्यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्दै आएको उनले बताए।
उनका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ प्रक्रियाले नेपाली चियाको निकासीलाई जटिल बनाएको छ। निर्यात गरिसकेको चिया भारतीय खरिदकर्ताको गोदाममा राख्नुपर्ने, नमुना परीक्षणका लागि भारतीय चिया बोर्डले संकलन गर्ने तथा परीक्षण प्रतिवेदन आउन २० देखि २५ दिनसम्म लाग्ने भएकाले चियाको गुणस्तरमा समेत असर परेको उद्योगीहरूको गुनासो छ।
यदि परीक्षण प्रतिवेदनमा गुणस्तर कमजोर देखिएमा गोदाममा रहेको चिया नष्ट गर्नुपर्ने प्रावधानसमेत राखिएको भन्दै अध्यक्ष पराजुलीले यसलाई अव्यावहारिक व्यवस्था भएको बताए। परीक्षण अवधिभरको गोदाम भाडासमेत नेपाली उद्योगीले नै तिर्नुपर्ने बाध्यताले थप समस्या सिर्जना गरेको उनको भनाइ छ।
भारतीय खरिदकर्ताले नेपाली चिया खरिद गर्न छाडेपछि उद्योगहरूमा उत्पादित चिया गोदाममै थन्किएको छ। त्यसका कारण किसानलाई हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न, विद्युत् महसुल तिर्न तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका दायित्व पूरा गर्न कठिनाइ उत्पन्न भएको उद्योगीहरूले बताएका छन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सरकारले चिया क्षेत्रमा देखिएको समस्याको तत्काल समाधानका लागि पहल नगरेसम्म उद्योग नखोल्ने चेतावनी दिए।
यसैबीच, नेपाली चिया निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन संघले जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष आदित्य पराजुली नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको संघका महासचिव शुक्र दाहालले जानकारी दिए।









