मधेसका मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै



1,092 SHARES

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी दुई प्रमुख दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले आफ्नो सरकारको निरन्तरताका लागि प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज प्रदेशसभा बैठक आह्वान गरेका छन्। बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने सभामुख यादवले जानकारी दिएका छन्। समितिको बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्नेछ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन आवश्यक प्रक्रिया अघि बढाउन बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन्। आवश्यक बहुमत जुटाउने प्रयासस्वरूप उनी विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन्। मतदान हुनुअघिसम्म पनि सहमति जुटाउने प्रयास जारी रहने उनले बताएका छन्।

विज्ञापन

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएको नेकपा (एमाले) ले गत असोज २५ गते सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई सामूहिक राजीनामा गराउँदै समर्थन फिर्ता लिएको थियो। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकारको पक्षमा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।

हाल नेपाली कांग्रेसका २२ सांसद मात्रै मुख्यमन्त्री यादवको दलगत आधारमा देखिएकाले विश्वासको मत प्राप्त गर्न उनलाई थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। त्यसका लागि अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय