|
887 SHARES |
सुर्खेत, कात्तिक २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न स्थानमा नगद रकमको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५३ गड्डी तास बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक २२ गते जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले विभिन्न स्थानमा एकैसाथ छापा मारेको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा प्रहरी चौकी बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनास्थलबाट जुवामा प्रयोग गरिएका ५३ गड्डी ताससँगै हारजितका लागि राखिएको नेपाली तथा भारतीय रुपैयाँसमेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको सम्बन्धमा भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।









