भूमि व्यवस्थापनमा शिवसताक्षीको प्रगति, १ हजार ८२३ फाइल जिल्ला समितिमा



829 SHARES

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । स्थानीय तहमै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नगरवासीलाई सहज हुनुका साथै नगरपालिकाको आन्तरिक राजस्व संकलनमा समेत उल्लेख्य योगदान पुगेको छ ।

नगरपालिकाको भूमि व्यवस्थापन शाखाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार शाखा सञ्चालनमा आएयता मालपोततर्फ ५१६ वटा जग्गा रजिस्ट्रेसन पास भएका छन् । त्यस्तै, नापीतर्फ कित्ताकाट, नक्सा प्रमाणितलगायतका १ हजार ३३ वटा काम सम्पन्न भएका छन् ।

यस अवधिमा संघीय तथा प्रदेश सरकारको राजस्वबाहेक नगरपालिकाको आन्तरिक राजस्वतर्फ ७३ लाख १२ हजार ९ सय ७६ रुपैयाँ ६० पैसा संकलन भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमै सञ्चालन हुँदा सेवाग्राहीलाई सहज हुनुका साथै नगरपालिकाको आम्दानी बढाउन पनि सहयोग पुगेको उहाँको भनाइ छ ।

विज्ञापन

नगरपालिकाले गत असार ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालनमा ल्याएको हो । यसअघि जग्गा रजिस्ट्रेसन, नामसारी तथा अन्य मालपोतसम्बन्धी कामका लागि नगरवासी दमकस्थित मालपोत कार्यालय पुग्नुपर्ने बाध्यता थियो । स्थानीय तहमै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र यातायात खर्च बचत हुनुका साथै जग्गासम्बन्धी प्रशासनिक काम छिटो र सहज रूपमा सम्पन्न हुन थालेका छन् ।

स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने सरकारी नीतिअनुसार शिवसताक्षी नगरपालिकाले भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याएको हो । यसले जग्गासम्बन्धी सेवा प्रवाहलाई विकेन्द्रित, व्यवस्थित र नागरिकमैत्री बनाउन सहयोग पुर्‍याएको छ ।

यसैबीच, नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पनि प्रक्रिया अघि बढाएको छ । यसक्रममा वडा नम्बर १ देखि ६ सम्मका १ हजार ८ सय २३ वटा फाइल प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समितिमा पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

भूमि प्रशासन सेवालाई स्थानीय स्तरमै विस्तार गर्नुका साथै भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अघि बढाउनुले शिवसताक्षीमा भूमि व्यवस्थापनसम्बन्धी कामले गति लिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय