विरिङ नदीमा छठ पूजाको भव्य तयारी, १९० भन्दा बढी घाट निर्माण



880 SHARES

बिर्तामोड। सूर्यदेव र छठी माताको उपासना गर्दै श्रद्धा, निष्ठा र पवित्रताका साथ मनाइने छठ पर्वको रौनक झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित विरिङ नदीमा बढेको छ। श्री छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष नदी किनारमा भव्य रूपमा छठ पूजा आयोजना गर्ने तयारी गरेको छ। पूजाका लागि १९० भन्दा बढी घाट निर्माण गरिएका छन्।

प्रकृति र सूर्यप्रतिको कृतज्ञता प्रकट गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा छठको विशेष महत्त्व छ। यस पर्वमा व्रतालुहरूले कठिन उपवास र कठोर नियम पालना गर्दै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइने यस पर्वले आस्था, अनुशासन, शुद्धता र सामाजिक एकताको सन्देशसमेत प्रवाह गर्छ।

छठ पर्वको मुख्य आकर्षण नदी, पोखरी तथा जलाशयका किनारमा निर्माण गरिने घाट र सामूहिक रूपमा गरिने सूर्य उपासना हो। बाँसका सामग्री, फलफूल, ठेकुवा, कसारलगायत प्रसादसहित अस्ताउँदो सूर्यलाई साँझ र उदाउँदो सूर्यलाई बिहान अर्घ्य अर्पण गर्ने परम्परा छ। जलाशयको किनारमा परिवार तथा समुदायका सदस्य एकत्रित भएर मनाउने यस पर्वले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ।

विज्ञापन

श्री छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष संगीता रौनियारका अनुसार यस वर्ष लक्ष्मीपुरस्थित विरिङ नदीमा १९० भन्दा बढी घाट निर्माण गरिएको छ। एउटा घाटमा दुई जना व्रतालु रहने व्यवस्था मिलाइएको उनले जानकारी दिइन्। घाट निर्माणसँगै पूजास्थलको व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई तीव्रता दिइएको उनको भनाइ छ।

छठ पूजा समारोहको उद्घाटन पूर्व खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष रौनियारले बताइन्।

पूजालाई व्यवस्थित र भव्य बनाउन समितिले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। मूल समारोह समितिको संयोजकमा शंकर भगत रहेका छन्। आर्थिक उपसमिति संयोजकमा मनोज रौनियार, प्रचारप्रसार संयोजकमा शत्रुधनप्रसाद रौनियार तथा घाट व्यवस्थापन र कुपन व्यवस्थापन उपसमिति संयोजकमा रामेश्वर द्विवेदी रहेका छन्।

त्यसैगरी सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा लालबाबु शाह, मञ्च व्यवस्थापन तथा स्वागत सत्कारमा छठ महिला मञ्च र शान्ति सुरक्षा तथा सामाजिक व्यवस्थापनको जिम्मेवारी पूर्वअध्यक्ष एवं पूर्वसल्लाहकारलाई दिइएको छ। स्वयंसेवक परिचालनको जिम्मेवारी छठ युवा फ्रन्टले सम्हाल्ने समितिले जनाएको छ।

यसैबीच, समितिका पूर्वअध्यक्ष घनश्याम चौधरीले छठ पूजास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिँदै श्रद्धालु तथा व्रतालुलाई ढुक्क भएर पूजामा सहभागी हुन आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छठ पूजा सफल बनाउन सबै पक्षको सहयोग, सहकार्य र सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समिति बिर्तामोडका सचिव जयकुमार झाले गरेका थिए।

धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावलाई एउटै सूत्रमा जोड्ने छठ पर्वले तराई–मधेसको सांस्कृतिक पहिचानलाई मात्र नभई पछिल्लो समय पहाडी तथा हिमाली समुदायबीच पनि आत्मीयता र एकताको सम्बन्ध विस्तार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय