|
9,000 SHARES |
झापा । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ।
निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा प्रचार–प्रसार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।
मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न तथा निर्वाचनलाई असर पार्ने कुनै पनि प्रकारका क्रियाकलाप गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरेको पाइए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कारबाही हुन सक्छ।
मतदानका क्रममा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र मतदाता त्रसित नबनून् भन्ने उद्देश्यले मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गरिएको हो।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिनेछ।
आयोगले तोकेको कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि प्रचार–प्रसार अभियान सञ्चालन गर्दै आएका थिए।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम गर्न पाउँदैनन्।
निर्वाचन आचारसंहिताको दफा १७ मा “मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण” का रूपमा मौन अवधिको व्यवस्था गरिएको उल्लेख छ।
उक्त प्रावधानअनुसार कुनै पनि माध्यमबाट मत माग्न, प्रचार गर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन नपाइने स्पष्ट गरिएको छ।










