|
1,222 SHARES |
मेचीनगर । झापाको मेचीनगर–१० खयरडाँगीस्थित महाकालेश्वर शिवालय एवं पुण्यश्वरी मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार कलश यात्रासहित विशेष धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ।
श्रावण महिनाको पहिलो सोमबार बिहान भक्तजनहरूले निन्दा नदीबाट पवित्र जल संकलन गरी कलश यात्रामार्फत मन्दिर ल्याएर भगवान श्री महाकालेश्वरलाई जलाभिषेक गरेका थिए। त्यसपछि रुद्राभिषेक, सन्ध्या आरती तथा भजन–कीर्तनका कार्यक्रम सम्पन्न भएका हुन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार खत्रीका अनुसार श्रावण महिनाभर प्रत्येक सोमबार रुद्राभिषेक गरिनेछ। अन्तिम सोमबार १९ अध्याय रुद्रीपाठ, हवन तथा विशेष पूजाआजासहित श्रावण विशेष कार्यक्रम सम्पन्न गरिने उनले जानकारी दिए।
गत असार २४ गते भव्य रूपमा प्राणप्रतिष्ठा सम्पन्न भएको मन्दिरमा असार २९ गतेदेखि दैनिक सन्ध्या गंगा आरती सञ्चालन हुँदै आएको छ। आरतीमा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहने गरेको समितिले जनाएको छ।
हिन्दु धर्ममा श्रावण महिना, विशेषगरी सोमबार, भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिन्छ। साउनका सोमबार व्रत बसी शिवलिङ्गमा जल र बेलपत्र अर्पण गरी पूजा गरे मनोकामना पूरा हुने तथा घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
यही आस्थाका कारण श्रावण महिनाभर महाकालेश्वर शिवालयमा दर्शन र पूजाआजाका लागि भक्तजनको उल्लेखनीय भीड लाग्ने गरेको छ। हालै निर्माण सम्पन्न भएको उक्त मन्दिरलाई मेचीनगर क्षेत्रकै आकर्षक तथा धार्मिक दृष्टिले महत्वपूर्ण शिवालयका रूपमा समेत हेरिएको छ।










