|
1,010 SHARES |
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विद्यालयस्तरबाट लागुऔषध दुव्र्यसन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापकहरूलाई लक्षित सचेतना कार्यक्रम तथा सचेतनामूलक ब्यानर वितरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागुऔषध दुव्र्यसनको बढ्दो जोखिम, त्यसको रोकथाम तथा विद्यालयले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेगाहाङ थोप्राले लागुऔषधविरुद्धको अभियानलाई विद्यालय र परिवार दुवै तहबाट सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सुधार केन्द्रबाट फर्किएका युवाप्रति समाजले गर्ने विभेदका कारण उनीहरू पुनः दुव्र्यसनमा फस्ने जोखिम बढ्ने भएकाले पुनःस्थापनामा समुदायको सकारात्मक भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो।
नगरप्रमुख थोप्राले बालबालिका तथा युवालाई दुव्र्यसनबाट जोगाउन नगरपालिकाले खेलकुद प्रतियोगिता, सिर्जनात्मक गतिविधि र ‘ज्ञानघर’ अवधारणामार्फत पठन संस्कृतिको विकासलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। ज्ञानघरमार्फत बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई अध्ययनका लागि अनुकूल वातावरण उपलब्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागुऔषध नियन्त्रण प्रहरीको मात्र दायित्व नभई विद्यालय, अभिभावक, स्थानीय तह, नागरिक समाज र समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले शिक्षकहरूले नियमित पठनपाठनसँगै लागुऔषधको असर, कानुनी व्यवस्था र बच्ने उपायबारे विद्यार्थीलाई निरन्तर सचेत गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा झापामा लागुऔषध सेवन तथा ओसारपसारसम्बन्धी कसुरमा ६३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। तीमध्ये १० जना शिवसताक्षी नगरपालिकाका रहेका छन्। झापाका १५ स्थानीय तहमध्ये लागुऔषधसम्बन्धी घटनाका आधारमा शिवसताक्षी आठौँ स्थानमा रहेको प्रहरीले जनाएको छ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापा र शिवसताक्षी नगरपालिकाको साझेदारीमा तयार गरिएको ‘स्थानीय तह र प्रहरी सम्पर्क कार्यक्रम’ सम्बन्धी पुस्तकको विमोचन गरिएको थियो। पुस्तकमा लागुऔषधविरुद्धको सचेतना, ट्राफिक नियम, कानुनी व्यवस्था तथा नागरिक सचेतनासम्बन्धी सामग्री समावेश गरिएको छ। उक्त पुस्तक नगरका सबै विद्यालयमा वितरण गरिने तथा विद्यालय परिसरमा राख्नका लागि लागुऔषधविरुद्धका सचेतनामूलक ब्यानर पनि हस्तान्तरण गरिएको जनाइएको छ।
कार्यक्रममा प्याब्सन शिवसताक्षीका अध्यक्ष रामप्रसाद सुहाङ, मेची अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल पदमजंग कुँवरलगायतले लागुऔषध नियन्त्रणमा विद्यालयको भूमिका र विद्यार्थीमा बढ्दो जोखिमका विषयमा आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए।
नगर उपप्रमुख नरमाया कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फेले गर्नुभएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो।










