अर्जुनधाराका थप १८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण



715 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा राष्ट्रिय भूमि आयोगको पहलमा थप १८ घरपरिवारले जग्गाधनी दर्ता प्रमाण–पुर्जा प्राप्त गरेका छन्। बुधबार आयोजित कार्यक्रममा अर्जुनधारा–११, लक्ष्मीधापका १८ घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरिएको हो। यससँगै नगरपालिकामा हालसम्म १६२ जना लाभग्राहीले आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

प्रमाण–पुर्जा वितरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समितिका संयोजक शिवराम गेलाल, झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुलीलगायतले लाभग्राहीलाई प्रमाण–पुर्जा हस्तान्तरण गरेका थिए।

विज्ञापन

वर्षौँदेखि जग्गाको कानुनी स्वामित्वको प्रतीक्षामा रहेका लाभग्राहीले प्रमाण–पुर्जा पाएपछि खुसी व्यक्त गर्दै आफ्नो लामो समयदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका छन्।

विज्ञापन

अर्जुनधारा नगरपालिकाका भूमि शाखा प्रमुख चुडामणि निरौलाले विगतदेखि अघि बढाइएको प्रक्रियालाई निरन्तरता दिँदै नयाँ आयोग गठनपछि प्रमाण–पुर्जा वितरण पुनः सुरु गरिएको जानकारी दिए। उनले नगरपालिकाका अन्य वडामा पनि प्रक्रियागत रूपमा जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरणको काम अघि बढाइने बताए।

नगरपालिकाको तथ्यांकअनुसार हालसम्म भूमि व्यवस्थापनका लागि ७ हजार २९२ वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ६ हजार ३५१ जना अव्यवस्थित बसोबासी, ७२९ जना भूमिहीन सुकुम्बासी तथा २१२ जना भूमिहीन दलित रहेका छन्।

कार्यक्रममा बोल्दै उपप्रमुख खड्गमाया पराजुलीले नगरभित्र खोला, सार्वजनिक जग्गा, पहिले नै धनीपुर्जा जारी भएका जग्गा तथा अव्यवस्थित बसोबाससँग सम्बन्धित कानुनी जटिलता अझै रहेको उल्लेख गरिन्। ती समस्या दीर्घकालीन रूपमा समाधान गर्न विद्यमान कानुन संशोधन आवश्यक रहेको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले झापाका सबै स्थानीय तहमा लगत संकलन, पहिचान तथा प्रमाणीकरणको काम निरन्तर अघि बढिरहेको जानकारी दिए। उनले वास्तविक भूमिहीन नागरिकलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया पारदर्शी रूपमा सञ्चालन भइरहेको बताए।

प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले दशकौँदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न थालेको उल्लेख गर्दै वितरण कार्यलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिन्। उनले भूमि अधिकारबाट लामो समय वञ्चित नागरिकलाई सम्मानपूर्वक प्रमाण–पुर्जा उपलब्ध गराइनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।

नगरप्रमुख बलदेवसिंह गोम्देनले नागरिकको सबैभन्दा ठूलो चासो धनीपुर्जा वितरणमा रहेको उल्लेख गर्दै अब वितरण प्रक्रिया नियमित रूपमा अघि बढ्ने बताए। भूमि समस्या समाधानलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै उनले सम्बन्धित भूमि शाखा बिहान ७ बजेदेखि सञ्चालन हुने तथा सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

उनले अझै छुटेका नागरिकलाई पुनः निवेदन दिने अवसर उपलब्ध गराउन संघीय सरकारमार्फत आवश्यक पहल गरिदिन सांसदसमक्ष आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय