अर्जुनधारावासीले अब निःशुल्क रगत पाउने



682 SHARES

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकाले नगरवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखासँग सम्झौता गरेको हो।

बिहिबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

विज्ञापन

सम्झौतापछि बोल्दै नगरप्रमुख गोम्देनले रगतको अभावका कारण उपचारमा कुनै पनि नगरवासीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यो व्यवस्था नगरवासीको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आर्थिक अभावका कारण रगत जुटाउन कठिनाइ हुने अवस्थाको अन्त्य गर्न नगरपालिकाले पहल गरेको बताए।

विज्ञापन

सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकले उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क पाउनेछन्। रगत सङ्कलन तथा व्यवस्थापनका लागि लाग्ने प्रतिपिन्ट एक हजार एक सय रुपैयाँ सेवा शुल्क नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई एकमुष्ट रूपमा उपलब्ध गराउनेछ।

सेवा लिनका लागि लाभग्राहीले अर्जुनधारा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने नागरिकता वा राष्ट्रिय परिचयपत्र तथा सम्बन्धित वडाको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार रगत उपलब्ध गराइने भए पनि सेवा पहिलो प्राथमिकताका आधारमा प्रदान गरिने सम्झौतामा उल्लेख छ।

बिरामी स्वयं उपस्थित हुन नसक्ने अवस्थामा निजका आफन्त वा प्रतिनिधिले आवश्यक कागजातका आधारमा रगत लिन सक्नेछन्। सेवा केन्द्रमा तत्काल रगत उपलब्ध नभए बिरामीलाई जानकारी गराइने र उपलब्ध भएपछि प्राथमिकताका साथ सेवा प्रदान गरिनेछ।

सम्झौताअनुसार एक बिरामीले बढीमा पाँच पटकसम्म निःशुल्क रगत प्राप्त गर्न सक्नेछन्। यो सम्झौता २०८३ साउन ७ गतेदेखि २०८४ असार मसान्तसम्म लागू रहने जनाइएको छ।

सम्झौतापत्रमा अर्जुनधारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमराज सेढाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका शाखा अधिकृत हरिशरण खड्काले समेत हस्ताक्षर गरेका छन्।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय