झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई



9,000 SHARES

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेका तीनवटै मतदान केन्द्रको नेतृत्व महिलाले सम्हाल्ने भएका छन्।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईका अनुसार रङ्गशालामा रहेका ‘क’, ‘ख’ र ‘ग’ तीनै केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मीसम्म महिला परिचालन गरिएको छ।

विज्ञापन

‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती मतदान अधिकृत र प्रतिक्षा घिमिरे सहायक मतदान अधिकृतको जिम्मेवारीमा रहनेछन्।

विज्ञापन

त्यस्तै ‘ख’ केन्द्रमा विशेष नापी कार्यालय दमककी सृजना पन्त मतदान अधिकृत र जुनु पोखरेल सहायक मतदान अधिकृतको रूपमा खटिने छन्।

‘ग’ केन्द्रमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल मतदान अधिकृत र प्रतिमा राई सहायक मतदान अधिकृतको जिम्मेवारीमा रहने जानकारी कार्यालयले दिएको छ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने कार्य तीव्र पारिएको छ।

झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् भने ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल तोकिएका छन्। निर्वाचन सम्पन्न गराउन ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ कर्मचारी परिचालन गरिएको जनाइएको छ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
47
+1
0
+1
16
+1
5
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय