|
9,000 SHARES |
झापा । झापा बिर्तामोडका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताका छोरा ठगी मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड निवासी बलराम कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई मंगलबार साँझ मेचीनगरस्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।
कार्कीविरुद्ध अर्जुनधारा–११ निवासी ४७ वर्षीय युवराज गिरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगीको जाहेरी दिएका थिए । जाहेरीअनुसार गिरीका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराइ विवाह गर्ने सर्तमा कलेज खर्च आवश्यक पर्ने भन्दै कार्कीले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।
प्रहरीका अनुसार कार्कीले किशोरीको नाममा पटक–पटक गरी उक्त रकम लिएका थिए । रकम व्यक्तिगत रूपमा खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो । पक्राउ पुर्जी जारी भएको करिब तीन महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।










