|
681 SHARES |
झापा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (वैशाख १ देखि असार ३२ गतेसम्म) देशभर ३ हजार २ सय ९६ वटा विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाको मृत्यु, २ जना बेपत्ता तथा ९ सय ४५ जना घाइते भएका छन्। यस अवधिमा ४ हजार ३ सय ७५ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै ८ सय ९७ वटा आगलागीका घटना भएका छन्। आगलागीबाट १७ जनाको मृत्यु, १ सय ९ जना घाइते तथा ९ सय ९० परिवार प्रभावित भएका छन्।
त्यस्तै, सर्पदंशका ५ सय १४ घटनामा ३८ जनाको मृत्यु, ४ सय ७९ जना घाइते र ५ सय १७ परिवार प्रभावित भएका छन्। हुरीका ४ सय ७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा १ हजार ३ सय ५६ परिवार प्रभावित भएका छन्।
यस्तै, पहिरोका ४ सय ३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३ सय ५१ परिवार प्रभावित भएका छन्। चट्याङका २ सय २३ घटनामा २४ जनाको मृत्यु, १ सय २० जना घाइते तथा २ सय ६२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका १ सय ८१ घटनामा १७ जनाको मृत्यु, १ सय ३ जना घाइते र २ सय ८७ परिवार प्रभावित भएका छन्। बाढीका १ सय ६१ घटनामा ९ जनाको मृत्यु, २ जना बेपत्ता, ९ जना घाइते तथा ३ सय ९६ परिवार प्रभावित भएका छन्।
यस्तै, भारी वर्षाका १ सय ५३ घटनामा ४ जनाको मृत्यु, १ जना घाइते र १ सय ३२ परिवार प्रभावित भएका छन्। लेक लाग्ने ९उच्च हिमाली क्षेत्रको स्वास्थ्य समस्या० ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेका छन्।
यसै अवधिमा वन डढेलोका १ सय ९१ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन्। ढुङ्गा खस्दा भएको एक घटनामा २ जनाको मृत्यु भएको छ भने हिउँपहिरोका २ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका प्राधिकरणले जनाएको छ।










