६० वर्षे राजनीतिक यात्रामा कहिल्यै भ्रष्टाचार नगरेको ओलीको दाबी



9,000 SHARES

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ। देश र जनताको पक्षमा काम गर्दा आफू चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको उहाँको भनाइ छ।

झापामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले कमिसनको खेलमा नलागेको र आगामी दिनमा पनि नलाग्ने स्पष्ट पार्नुभयो। देशको विकास, राष्ट्रियता, शान्ति–सुव्यवस्था र जनताको जिउधनको सुरक्षाका लागि निरन्तर काम गर्दा विभिन्न शक्तिहरूले आफूविरुद्ध आक्रमण गरिरहेको उहाँले जिकिर गर्नुभयो।

विज्ञापन

उहाँले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने पहल गरिएको, उत्तरतर्फका नाका खोलिएको तथा दक्षिण क्षेत्रमा हुलाकी राजमार्ग निर्माण गरी मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराउनुभयो। नेपालीहरूलाई जात, धर्म र भूगोलका आधारमा विभाजन गर्ने प्रयासविरुद्ध आफू दृढताका साथ उभिएको उहाँको भनाइ थियो।

विज्ञापन

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित टिप्पणी गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताउनुभयो। देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको उल्लेख गर्दै सफल र सक्षम शक्तिलाई छाडेर चिन्दै नचिनेकालाई मत दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो।

एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्न नसक्ने दाबी गर्नुभयो। देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता व्यक्त गर्दै एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो।

देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अघि बढाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो। साथै, हजारौं वर्षदेखि विकास भएका संस्कृति र संस्कारको संरक्षण गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरू हटाउँदै जानुपर्ने उहाँको धारणा थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
71
+1
3
+1
28
+1
7
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय