|
775 SHARES |
कास्की । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ। त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उनले जानकारी दिए।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए। जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उनको भनाइ छ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए। बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले उक्त फैसला गरेको हो।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन्।
उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ।
प्रतिक्रिया दिनुहोस ।
+1
+1
+1
+1
+1









