|
890 SHARES |
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। पार्टीको आगामी राजनीतिक कार्यदिशा, सङ्गठनात्मक एकता र स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गर्न लागिएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान ११ बजे भेलाको उद्घाटन गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड, फागुनमा सम्पन्न निर्वाचनको परिणाम र त्यसपछि गठित सरकारका कामकारबाहीले मुलुकको राजनीतिक तथा लोकतान्त्रिक वातावरण थप जटिल बनाएको एमालेको निष्कर्ष छ।
पार्टीले सरकारका कामकारबाहीबाट लोकतन्त्रका आधारभूत मूल्यमान्यता, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठिरहेको दाबी गरेको छ। सरकारको कार्यशैलीलाई ‘अलोकतान्त्रिक र जनविरोधी’ भन्दै एमालेले त्यसबाट जनतामा असन्तुष्टि, निराशा र आक्रोश बढेको जनाएको छ।
मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रतिको अनिश्चितता गहिरिँदै गएको अवस्थामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको आचार्यले बताएका छन्। भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तहको निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नुका साथै पार्टीपङ्क्तिमा राजनीतिक बुझाइ र निर्णय प्रक्रियामा एकरूपता कायम गर्नु रहेको छ।
भेलामार्फत पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने, मुलुकमा देखिएको कुशासन र निराशा चिर्दै जनतामा आशा तथा ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत एमालेले राखेको छ।
भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका नेता तथा निर्वाचित जनप्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। पार्टी जीवनमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको यो पहिलो पटक भएको एमालेको दाबी छ।
भेलामा केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, केन्द्रीय प्रतिनिधि, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र जनसङ्गठनका प्रतिनिधिहरू सहभागी हुनेछन्।
भेलामा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको आगामी कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, प्रशिक्षण तथा प्रस्तुति सत्रअन्तर्गत उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका कामको समीक्षा तथा महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको कार्ययोजना प्रस्तुत गर्ने एमालेले जनाएको छ।









