|
896 SHARES |
पाँचथर । आपसी एकता, सहकार्य र श्रम संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रम संस्कृति पार्टीले पाँचथरको मिक्लाजुङ र इलामको माङसेबुङलाई जोड्दै चिसोपानी पञ्चमीमा संयुक्त हातेमालो कार्यक्रम आयोजना गरेको छ।
दुई स्थानीय तहका बासिन्दाको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पार्टीका वरिष्ठ श्रमदाता एवं पूर्वपर्यटनमन्त्री सुदन किराती सहभागी भएका छन्।
कार्यक्रममा मिक्लाजुङ र माङसेबुङ क्षेत्रका स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा दुई क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै सामूहिक श्रम, सहकार्य र एकताको भावना विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
भौगोलिक तथा सामाजिक रूपमा एकअर्कासँग नजिक रहेका मिक्लाजुङ र माङसेबुङलाई साझा अभियानमार्फत जोड्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको हो। स्थानीयस्तरमा आपसी सद्भाव बढाउनुका साथै श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास र सामूहिक सहभागितामार्फत समाज निर्माणको सन्देश प्रवाह गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइएको छ।









