छोराको उपचारमा ८० लाख खर्च, सहयोगको याचना गर्दै आमा : जिम्स फिटनेसको ३० हजार सहयोग



923 SHARES

बिर्तामोड । ‘म पनि बिरामी नै छु, तर छोराको पिरले गर्दा आफ्नो रोग लुकाउन बाध्य छु ।’ आँखाभरि आँसु पार्दै पाँच वर्षीय छोरा उज्वल ठाकुरको उपचारका लागि सहयोगको याचना गर्दा आमा पिङ्की राजवंशी ठाकुरका यी शब्दले उनको पीडा र विवशता प्रस्ट्याउँछन् ।

बोनम्यारो रोगबाट पीडित बिर्तामोड–५ का पाँच वर्षीय उज्वलको उपचारमा परिवारले अहिलेसम्म करिब ८० लाख रुपैयाँ खर्च गरिसकेको छ । छोराको जीवन बचाउन परिवारले आफूसँग भएको जायजेथा सकिसकेको छ भने आफन्तसँग ऋणसमेत लिनुपरेको छ । तर, लामो उपचारपछि पनि बालकको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेको छैन ।

यही कठिन परिस्थितिमा उज्वलको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले झापाको बिर्तामोड–२, चारपानेस्थित जिम्स फिटनेस सेन्टरले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको ३० हजार रुपैयाँ सहयोग गरेको छ ।

विज्ञापन

सेन्टरले शनिबार एक कार्यक्रमबीच देउसीभैलोबाट संकलित रकम बालकका परिवारलाई हस्तान्तरण गरेको हो । सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेती, सल्लाहकार पार्वता गिरी, सदस्य निशा तामाङ उप्रेती, शान्ता गिरी र नेम्सु तामाङले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएको सेन्टरका सञ्चालक उप्रेतीले बालकको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले अन्य संघसंस्थासँग समन्वय गरेर समेत उपचारका लागि थप आर्थिक सहयोग जुटाउने आश्वासन दिए ।

त्यस्तै, सेन्टरकी सल्लाहकार पार्वता गिरीले आफू विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहेकाले ती संस्थासँग समन्वय र सहकार्य गरी उज्वलको उपचारका लागि सहयोग जुटाउन पहल गर्ने बताइन् । सोही अवसरमा शान्ता गिरीले व्यक्तिगत रूपमा थप एक हजार एक सय रुपैयाँसमेत सहयोग गरेकी थिइन् ।

उज्वलकी आमा पिङ्कीका अनुसार उनी सात महिनाको हुँदादेखि नै बोनम्यारोसम्बन्धी रोगबाट पीडित छन् । छोराको उपचारका लागि परिवारले ठूलो आर्थिक भार व्यहोर्दै आएको छ । छोराको उपचारमा केन्द्रित हुनुपर्दा आफ्नै स्वास्थ्य समस्यासमेत ओझेलमा परेको उनले बताइन् ।

उज्वलका बुबा मुकेश ठाकुरले बिर्तामोडमा सैलुन सञ्चालन गर्दै आएका थिए । छोराको उपचारका लागि सैलुन बन्द गरेर आफूसँग भएको जायजेथा र आफन्तसँग ऋण लिएर भारतमा बोनम्यारो प्रत्यारोपण गराएको उनले बताए । प्रत्यारोपणपछि पनि बालकमा पटक–पटक संक्रमण हुने समस्या देखिइरहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

छोराको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका मनकारी व्यक्ति, संघसंस्था र सहयोगी हातहरूसँग अपिल गर्दै आमा पिङ्कीले आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् ।

यसैबीच, जिम्स फिटनेस सेन्टरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । सेन्टरले खुला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान तथा लागूऔषधविरुद्धका सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने सञ्चालक उप्रेतीले जानकारी दिए ।

सहयोगका लागि बैंक खाता

उज्वलको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले उनका पिता मुकेश ठाकुरको नाममा ग्लोबल आईएमई बैंक, बिर्तामोड शाखामा रहेको खाता नम्बर ०७७०७०१०००७९५८ मा सहयोग रकम जम्मा गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय