अर्जुनधाराको राते भित्तामा सडक कालोपत्रे धमाधम, स्थानीयमा खुसी



945 SHARES

अर्जुनधारा । वर्षौंदेखि जीर्ण सडकका कारण सास्ती खेप्दै आएका झापाको अर्जुनधारा नगरपालिका–२ स्थित राते भित्ता क्षेत्रका बासिन्दाले अब सहज आवागमनको सुविधा पाउने भएका छन्। लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको सडकमा अहिले कालोपत्रेको काम धमाधम भइरहेको छ।

करिब ६२० मिटर लम्बाइ र साढे ४ मिटर चौडाइ रहेको सडकमा आज कालोपत्रे गर्ने काम भइरहेको हो। संघीय समानीकरण अनुदानअन्तर्गत निर्माण भइरहेको उक्त सडकको लागत भ्याटसहित २ करोड ४१ लाख ७६ हजार रुपैयाँ रहेको छ। सडक निर्माणको ठेक्का नुमा जेबी एण्ड सोना जेबीले पाएको छ।

सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीमा खुसी छाएको छ। वर्षौंदेखि सडकको दुरवस्थाका कारण दैनिक आवागमनमा कठिनाइ भोग्दै आएका उनीहरूले निर्माण सम्पन्न भएपछि यात्रा सहज हुने विश्वास व्यक्त गरेका छन्। स्थानीयको समस्यालाई सम्बोधन गर्दै विकास निर्माणको काम अघि बढाएको भन्दै उनीहरूले नगरप्रमुख, जनप्रतिनिधि तथा स्थानीय सरकारप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

विज्ञापन

निर्माणाधीन सडकको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले स्थलगत निरीक्षण गर्नुभएको छ। नगर प्रहरी तथा प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा सडक कालोपत्रेको काम भइरहेको छ।

निरीक्षणका क्रममा नगरप्रमुख तामाङले हाल कालोपत्रे भइरहेको सडकले दुवैतर्फको सडक सञ्जालसँग पूर्ण रूपमा निकास नपाएको बताउनुभयो। सडकलाई दुवैतर्फका सडक सञ्जालसँग जोडेर सहज आवागमनको व्यवस्था मिलाउन आगामी दिनमा थप योजना अघि बढाइने उहाँले जानकारी दिनुभयो। अहिले निर्माण भइरहेको खण्डमा मात्र सीमित नभई समग्र सडक सञ्जाललाई एकीकृत गरेर विकास गर्ने नगरको योजना रहेको उहाँको भनाइ छ।

नगरको रिङरोड अवधारणासमेत समेटिएको यो सडकले अर्जुनधारा–१ को हलुवागढ हुँदै अर्जुनधारा–२ को राते बस्तीलाई जोड्नेछ। त्यस्तै, उत्तरी खण्डबाट मदन भण्डारी राजमार्गसँग जोडिने भएकाले यसले नगरको सडक सञ्जाल विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सडक निर्माण सम्पन्न भएपछि राते भित्ता क्षेत्रका बासिन्दाको आवागमन सहज हुनुका साथै कृषि उपजको ढुवानी, स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। प्रस्तावित सडक सञ्जाल विस्तारको योजना कार्यान्वयन हुन सके यस क्षेत्रका बासिन्दाले यातायात पहुँचका दृष्टिले थप सुविधा प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय