|
9,000 SHARES |
भर्खरै हो
चुमेर माटोको आत्मा फुलेको हो आँप
बसेको हो माहुरी फूलमा
जसरी झुमिन्छ बच्चा आमा वरिपरि
देखिदैन फूल आँपको जसरि देखिदैन खुसी आमाको
जो आँसुको झुप्पा बोकेर झुण्डिरहन्छ जीन्दगीसँग
हुन्छ त आँपको पनि फूल
समाउँदै आमाको हात घरी झुण्डिदै
घरी उफ्रिएर एक खुट्टाले बुई चढेर अङ्गालो आमाको
गल्ली गल्ली निस्फिक्री घुमेको छ यादहरु
जतिखेर चराहरु थिए रुखमा
बतास रुखैको पात हल्लाउँदै थियो अघिपछि हामीसँग
टिपेर पात रुखबाट दिन्थ्यो हावाले
सायद पिपिरी बजाउँन पातको भन्थ्यो हावाले
सुनी सकेर बिरहको सङ्गीत आमाको
जिद्धिले रुन्थेँ म नजानेर बजाउँन सङ्गीत पातको
सायद नभोगी जीवनले सकिन्दैनथ्यो बजाउन सङ्गीत पातमा
निर्वाध बढेर हुर्किएका जंगली रुखहरु आँपको
लाएर चिचिलाको ढुङ्री बुलाकी थिए किनारभरी उभिएका
सुमसुमाएर प्रेमले चुमिदिनु भयो आमाले चिचिलाहरु
एउटा खुसीको चमक छाल जस्तै उदायो अनुहारमा
हामी त्यो अनौठो स्वाद लिएर हिडिरह्यौं
चुपचाप
मात्र सिर्सिर बतास थियो अघिपछि
साथमा गन्ध चिचिलाको
हुनुहुन्न आज आमा
तर फेरि हाँगाहरु आँपको लाएर बुलाकि कानको मुन्द्री
छ उभिएको उस्तै गरि
सक्दिन म चाहेर पनि चुम्न चिचिलाहरु
यादहरु उभिएको छ बल्झेर फेरि
यस्तो छ जादु
हिडिरहेछु म आमासँगै










