इलाम । लगातार दुई दिनदेखिको वर्षापछि मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन अनिश्चितकालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
उनका अनुसार यसअघि चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् भने आइतबारसम्म मोटरसाइकललाई आवतजावतको अनुमति दिइएको थियो। तर, गएराति सडक थप भासिएर जोखिम बढेपछि सम्पूर्ण सवारी सञ्चालन रोकिएको हो।
सडक अवरुद्ध भएसँगै इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ। इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ आएका तथा झापाबाट ती जिल्लातर्फ गएका मालवाहक र यात्रुवाहक सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि त्यो मार्ग पनि बन्द भएको छ। त्यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाउँदा इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराउने बेलीब्रिजका सामग्री हालसम्म नआएकाले समस्या समाधान हुन सकेको छैन।
सडक पूर्ण रूपमा बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्। प्रशासनले वर्षाका कारण पहिरो र सडक भासिने जोखिम अझै कायम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।










