काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनीलाई नेपालीमा भावानुवाद गर्दै ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यलाई अमूल्य योगदान दिनुभएको मानिन्छ। उहाँद्वारा अनूदित रामायण आज पनि नेपालीका घर–घरमा श्रद्धापूर्वक पाठ गरिन्छ।
इतिहासकारहरूका अनुसार पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्नुभएको भए पनि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने प्रेरणा दिएपछि नेपाली भाषामा रामायण रचना गर्ने संकल्प लिनुभएको जनविश्वास छ।
‘रामायण’ बाहेक उहाँका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनाहरू नेपाली साहित्यका महत्वपूर्ण कृति मानिन्छन्। नेपाली भाषा, राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र जातीय एकताको विकासमा उहाँको योगदान ऐतिहासिक रहेको छ।
भानुजयन्तीको अवसरमा आज देशभर प्रभातफेरी, माल्यार्पण, रामायण वाचन, साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छन्। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ।
यस्तै, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायत भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले पनि विशेष कार्यक्रममार्फत भानुजयन्ती मनाइरहेका छन्। भारतका दार्जिलिङ र सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश र स्थानमा समेत भानुजयन्ती विशेष उत्साहका साथ मनाउने परम्परा रहेको छ।










