|
9,000 SHARES |
झापा । प्रतिनिधिसभा निर्वाचन इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन्।
प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३४८ मत ल्याए भने ओलीले १८ हजार ७३४ मत ल्याए। साहले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो।
यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए। २०७४ सालकै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए।
२०८० को उपनिर्वाचनमा चितवन–२ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका थिए। यसपटक रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याए।
मोरङ–६ मै रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन्। काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए। त्यस्तै, रूपन्देही–२ मा सुलभ खरेलले पनि ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भए। खरेलले ५६ हजार ५५० मत ल्याएका थिए।

अन्तिम मतपरिणाम अनुसार झापा ५ मा बालेन ६८ हजार ३ सय ४८ मतसहित निर्वाचित भएका छन्। उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।










