|
9,000 SHARES |
दमक। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नं. ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतामा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र–राष्ट्रियता तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।
राजनीतिक दृष्टिकोण
प्रतिबद्धता पत्रमा एमाले नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार भएको उल्लेख गर्दै विगतका उपलब्धि संरक्षण र अधुरा काम पूरा गर्ने संकल्प दोहोर्याइएको छ। २०७४ पछि बनेको सरकार आन्तरिक तथा बाह्य कारणले विघटन हुँदा राजनीतिक अस्थिरता बढेको उल्लेख गर्दै स्थिर सरकारको आवश्यकता औंल्याइएको छ।
स्टन्टबाजी र पपुलिज्मप्रति टिप्पणी
दलहरूमा देखिएको दोहोरो चरित्रका कारण ‘स्टन्टबाजी’ र पपुलिस्ट प्रवृत्ति मौलाएको उल्लेख गरिएको छ। सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमार्फत तथ्यहीन सूचना फैलिँदा भ्रम सिर्जना भएको दाबी गर्दै कृत्रिम बुद्धिमत्ताको दुरुपयोग रोक्न कानुनी व्यवस्थाको आवश्यकता औंल्याइएको छ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ कार्यक्रम
एमालेले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा मात्र नभई कार्ययोजना भएको दाबी गरेको छ। विगतका उपलब्धिको संरक्षण र अधुरा योजनाको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

मुख्य प्रतिबद्धताका क्षेत्र
१. सुशासन र भ्रष्टाचार नियन्त्रण
राजनीतिक अस्थिरताले सुशासनमा असर पुगेको उल्लेख गर्दै सुशासन कायम गर्ने कार्यक्रम अघि सारिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ।
२. राष्ट्र र राष्ट्रियता
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल सशक्त बनाइने जनाइएको छ। प्राप्त उपलब्धिको संरक्षण गरिने उल्लेख छ।
३. पूर्वाधार विकास
रोकिएका र अधुरा आयोजनालाई तीव्रता दिने, ग्राभेल सडक कालोपत्रे गर्ने, पुल तथा तटबन्ध निर्माण सम्पन्न गर्ने, खानेपानी तथा सिँचाइ विस्तार गर्ने योजना समेटिएको छ।

४२ एजेण्डाका प्रमुख बुँदा
-
रोकिएका विकास आयोजना पूरा गर्ने पहल
-
भूमिहीन, दलित, सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने
-
जनता आवास कार्यक्रमलाई निरन्तरता
-
स्वास्थ्य बिमा सेवा सुदृढीकरण
-
प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान
-
सामुदायिक विद्यालय र क्याम्पसको स्तरोन्नति
-
कृषिमा भूमिगत तथा सतही सिँचाइ विस्तार
-
जैविक मल कारखाना स्थापना पहल
-
दमक, गौरादह बजार आधुनिकीकरण
-
रतुवा, मावा, कमल खोलामा तटबन्ध तथा पुल निर्माण
-
दमक चिसापानी–रवि सडक निर्माण प्रक्रिया अघि बढाउने
-
बिजिनेस टावर सञ्चालन तथा ल्यान्डपुलिङ पहल
-
विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार विकास
-
नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गर्ने
-
मदन भण्डारी रङ्गशाला निर्माण पहल
-
नगर अस्पतालहरूको स्तरवृद्धि
-
हुलाकी मार्गअन्तर्गत माई नदी पुलको काम सम्पन्न
-
विराट बुद्धपार्क तथा खानेपानी आयोजना पूरा
-
आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण
-
धार्मिक, सांस्कृतिक तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धन
एमालेले फागुन २१ गते हुने निर्वाचनमा अध्यक्ष ओलीलाई विजयी गराउन अपिल गर्दै घोषणापत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।










