इनम प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्टको माग



902 SHARES

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयमा कार्यरत व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ब्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता बताइएका चिराग श्रेष्ठलाई तत्काल पदबाट हटाई पक्राउ गरेर निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन्।

नेपालखबरमा प्रकाशित समाचार तथा सार्वजनिक भिडियोमा आएका विवरणलाई आधार बनाउँदै मुभमेन्टले अनुसन्धानका क्रममा पक्राउ परेका इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ब्यञ्जनकारको निजी निवासमा दुई दिनसम्म राखिएको र प्रधानमन्त्री कार्यालयका अधिकारी प्रहरी परिसरमै पुगेर अनुसन्धानबारे सोधखोज गरेको विषयलाई गम्भीर रूपमा उठाएको छ।

विज्ञापन

प्रहरी नियन्त्रणमा रहेको अभियुक्तको मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो, कसको आदेशमा पुग्यो र त्यसमा कसले पहुँच राख्यो भन्ने प्रश्न गर्दै मुभमेन्टले डिजिटल प्रमाण मेटिएको, थपिएको वा परिवर्तन गरिएको हुन सक्ने आशंकामा स्वतन्त्र डिजिटल फरेन्सिक छानबिन गर्न माग गरेको छ।

मुभमेन्टले यस घटनालाई पदको दुरुपयोगमा मात्र सीमित नराखी राज्यको अनुसन्धान संयन्त्रमाथि राजनीतिक प्रभाव जमाउने र न्यायिक प्रक्रियालाई प्रभावित पार्न सक्ने गम्भीर विषयका रूपमा व्याख्या गरेको छ। प्रमाण नष्ट गर्ने, झुट्टा प्रमाण सिर्जना गर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्य पुष्टि भए सम्बन्धित सबैलाई पक्राउ गरी कानुनी अभियोजन अघि बढाउनुपर्ने उसको माग छ।

प्रधानमन्त्री, गृहमन्त्री, उनीहरूका सल्लाहकार, राजनीतिक नेता, प्रहरी अधिकारी तथा न्यायिक पदाधिकारी कसैलाई पनि अनुसन्धानबाट उन्मुक्ति दिन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ८९, ९२ र ९३ तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५, ४६ र ४८ लगायतका कानुनी प्रावधान आकर्षित हुन सक्ने भन्दै मुभमेन्टले सोहीअनुसार अनुसन्धान अघि बढाउन माग गरेको छ।

विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई समेत प्रश्न गर्दै मुभमेन्टले यस्तो गम्भीर प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई पदबाट हटाएर पक्राउ गरी कारबाही गर्ने आँट देखाउन चुनौती दिएको छ। प्रधानमन्त्रीले कारबाही नगरे यस घटनामा उनको समेत संलग्नता रहेको आशंका बलियो हुने मुभमेन्टको भनाइ छ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई कुनै निजी गिरोह, राजनीतिक स्वार्थ वा गैरकानुनी गतिविधिको संरक्षण केन्द्र बन्न नदिन चेतावनी दिँदै मुभमेन्टले राज्यका संयन्त्रले कुशासन र शक्ति दुरुपयोग नियन्त्रण गर्न नसके तथा प्रतिनिधिसभाले राजनीतिक निकास दिन नसके असोज २ र भदौ २४ का घटना पुनरावृत्ति हुन सक्ने जनाएको छ।

‘अब कुनै बहाना, कुनै राजनीतिक संरक्षण र कुनै पदको आडमा उन्मुक्ति स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्ष छानबिन सुरु गरियोस्, दोषीलाई कारबाही गरियोस्। अन्यथा सुशासनको नाममा राज्यसत्ताको दुरुपयोग गर्नेहरूविरुद्ध जेनजी मुभमेन्ट नेपाल सशक्त नागरिक प्रतिवादमा उत्रिन बाध्य हुनेछ।’

प्रवक्ता शाहद्वारा जारी विज्ञप्ति सर्वोच्च अदालत र नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय