|
9,000 SHARES |
रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।
यही फागुन २१ गते हुने निर्वाचनका लागि खटिएको टोली बोकेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमै प्रहरी सहायक निरीक्षक आरपी यादवको मृत्यु भएको हो। साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको भने मन्थली अस्पताल मा उपचारका क्रममा निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिएका छन्।
दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये खाँडादेवी गाउँपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का, सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे तथा ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त गाडी देउराली र साँघुटारका तीन वटा मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो। मावि देउरालीमा सामग्री बुझाएर सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई मतदान केन्द्रका सामग्री लिएर जाँदै गर्दा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्।
गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो।










