|
9,000 SHARES |
बिर्तामोड । चुनाव नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। झापा क्षेत्र नम्बर २ पनि त्यसबाट अछुतो छैन।
ठूला तथा परम्परागत राजनीतिक दलहरू बाजा–गाजा, ठूलो ध्वनि प्रणाली, कार्यकर्ताको भीड र महँगा सवारीसाधनसहित प्रचारप्रसारमा सक्रिय छन्। गाउँ–शहरमा र्याली र आमसभाको होहल्ला बढ्दो छ।
तर यही भीड र तामझामबीच फरक शैलीसहित चुनावी मैदानमा उत्रिएका छन् सी के वेघा लिम्बू। उज्यालो नेपाल पार्टी का तर्फबाट झापा–२ का प्रत्यक्ष उम्मेदवार रहेका वेघाको चुनावी अभियान अन्य दलभन्दा फरक देखिएको छ।
उनको प्रचारमा न ठूलो साउन्ड सिस्टम छ, न बाजा–गाजा, न कार्यकर्ताको ठूलो भीड। एउटा सानो निजी गाडी र दुईवटा ई–रिक्साको सहारामा उनी हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म मतदाता भेटघाटमा व्यस्त देखिन्छन्।
“सादा जीवन, उच्च विचार”को अभ्यास गर्दै आएको बताउने वेघा आफैं गाडी चलाएर घरदैलो अभियानमा पुग्छन्। उनको प्रचार सहर बजारभन्दा बढी गाउँबस्ती र श्रमिक समुदायमा केन्द्रित छ।
उनले औपचारिक भाषणभन्दा प्रत्यक्ष संवादलाई प्राथमिकता दिने गरेका छन्। “भाषण गरेर ध्वनि प्रदूषण गर्नु हुँदैन,” भन्दै वेघा मतदातासँग हातेमालो गर्दै समस्या सुन्छन् र समाधानका प्रतिबद्धता व्यक्त गर्छन्।
स्थानीय मतदाताहरूका अनुसार उम्मेदवार स्वयं घरदैलोमा आउँदा सकारात्मक सन्देश गएको छ। “उम्मेदवार आफैं घरमै आउँदा खुसी लाग्यो,” केही मतदाताले प्रतिक्रिया दिएका छन्।
वेघा भन्छन्, “मलाई जिताएर पठाए पनि, नपठाए पनि चुनावपछि फेरि तपाईँहरूलाई भेट्न आउनेछु।” पाँच वर्षसम्म निर्वाचित प्रतिनिधि नदेखेको गुनासो गरिरहेका मतदाताका लागि यो वाचा भावनात्मक बनेको देखिन्छ।
उज्यालो नेपाल पार्टीका नेतृत्वमा रहेका कुलमान घिसिङ को नामका कारण पनि पार्टी चर्चामा छ। वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्दै अघि बढेको पार्टीले विभिन्न क्षेत्रमा समर्थन विस्तार भइरहेको जनाएको छ।
यद्यपि झापा–२ मा प्रतिस्पर्धा भने कडा देखिन्छ। ३२ वर्ष भारतीय सेनामा सेवा गरेर हालै क्याप्टेन पदबाट अवकाश लिएका वेघा राजनीतिमा नयाँ अनुहार हुन्।
उनका मुख्य प्रतिस्पर्धीहरूमा पूर्व सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, पूर्व मन्त्री सरिता प्रसाई, धर्मशीला चापागाईं तथा प्राध्यापक डा. युवराज संग्रौला, अधिवक्ता स्वागत नेपाल जस्ता चर्चित व्यक्तित्व रहेका छन्।
अनुभव, संगठन र स्रोत–साधनका हिसाबले बलिया प्रतिद्वन्द्वीबीच वेघाको सादा र प्रत्यक्ष सम्पर्कमा आधारित अभियान कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न उठेको छ।
झापा–२ को चुनावी मैदानमा अहिले दुई फरक शैली देखिएका छन्—एकातिर तामझाम र शक्ति प्रदर्शन, अर्कोतिर सादगी र घरदैलो केन्द्रित संवाद।
अब मतदाताले कुन शैली रोज्छन्रु होहल्लासहितको शक्ति प्रदर्शन कि शान्त, प्रत्यक्ष र भावनात्मक संवादरु
आगामी मतपरिणामले नै झापा–२ को राजनीतिक दिशा तय गर्नेछ।










