क्षमताभन्दा चौब्बर बढी कैदीबन्दीको चापमा झापा कारागार

नेत्रविक्रम बिमली
झापा । झापाको भद्रपुरस्थित कारागार क्षमताभन्दा चौब्बर बढी कैदीबन्दीको चाप खेपिरहेको छ। बढ्दो भीडका कारण दैनिक व्यवस्थापनदेखि फोहोरमैला व्यवस्थापनसम्म चुनौती थपिएको छ भने कारागारबाट फैलिने दुर्गन्धका कारण स्थानीयवासीसमेत आक्रोशित बनेका छन्। यसैबीच, दीर्घकालीन समाधानका रूपमा नयाँ कारागार भवन निर्माण प्रक्रिया अघि बढाइएको छ।

कारागार कार्यालयको २०८३ असार मसान्तसम्मको तथ्याङ्क अनुसार झापा कारागारमा १ हजार ५ सय ८५ जना कैदीबन्दी रहेका छन्। तीमध्ये ९९९ जना अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका कैदी हुन् भने ५८६ जना मुद्दाको पुर्पक्षका क्रममा रहेका थुनुवा छन्।

विज्ञापन

लिङ्गका आधारमा हेर्दा १ हजार ५०७ जना पुरुष र ७८ जना महिला कारागारमा छन्। कैदीतर्फ ९४४ पुरुष र ५५ महिला तथा थुनुवातर्फ ५६३ पुरुष र २३ महिला रहेका छन्। कारागारमा ६५ वर्षभन्दा माथिका १९ जना ज्येष्ठ नागरिक पनि छन्। तीमध्ये १८ जना कैदी र १ जना थुनुवा रहेका छन्। महिला बन्दीसँग आश्रित भएर बस्ने बालबालिकाको सङ्ख्या भने असार मसान्तसम्म शून्य रहेको छ।

विज्ञापन

भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले झापा कारागारमा विदेशी नागरिकको उपस्थिति पनि उल्लेखनीय छ। हाल १४७ जना विदेशी नागरिक कारागारमा रहेका छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना छन्। समीक्षा अवधिमा कुनै पनि स्वदेशी वा विदेशी कैदीबन्दी फरार नभएको कारागार प्रशासनले जनाएको छ।

झापा कारागारका प्रशासक रेवन्त भट्टराई ले क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा दैनिक व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको बताए। उनका अनुसार कारागारलाई केवल बन्दी राख्ने स्थान नभई सुधार गृहका रूपमा विकास गर्नुपर्ने सोचअनुसार व्यवस्थापन सुधारका प्रयास भइरहेका छन्।

यद्यपि, साँघुरो भौतिक संरचना र अत्यधिक भीडका कारण फोहोरमैला व्यवस्थापन गम्भीर समस्याका रूपमा देखिएको छ। कारागारबाट निस्कने ढल र फोहोरका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले कारागारलाई सहरी क्षेत्रबाट अन्यत्र स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्।

यही समस्याको दीर्घकालीन समाधानका लागि नयाँ कारागार भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ। कारागारका सूचना अधिकारी तेजिन्द्र न्यौपानी का अनुसार प्रशिक्षण केन्द्र परिसरको १० बिघा जग्गामा आधुनिक कारागार निर्माण गर्ने योजना रहेको छ।

उनले सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत पहिलो चरणमा १ करोड ७५ लाख रुपैयाँ विनियोजन भइसकेको जानकारी दिए। अब विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी भवन निर्माणको काम अघि बढाइने उनले बताए।

कारागार प्रशासनका अनुसार हाल प्रारम्भिक बजेट मात्रै निकासा भएको भए पनि पूर्ण सुविधासम्पन्न र मापदण्डअनुसारको नयाँ कारागार निर्माणका लागि करिब १५ देखि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि अहिले देखिएको भीडभाड, व्यवस्थापन र वातावरणीय समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय