झापा । लगातारको वर्षासँगै पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै वीपी र मेची राजमार्गसहित ९ वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने वीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कान्ति लोकपथ मा पनि वर्षायामभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएपछि पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका अन्य सडकखण्डहरूमा बागलुङको जैमिनी नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडक, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड रहेका छन्।
यसैबीच, दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भएको छ। उक्त क्षेत्रमा खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।










