|
9,000 SHARES |
झापा । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रही केही स्थानमा छिटपुट वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।










