‘बाबाको बासुरी’को च्यारिटी शोबाट बाढीपीडितलाई १० हजार सहयोग



1,030 SHARES

बिर्तामोड । नेपाली लघु चलचित्र ‘बाबाको बासुरी’ (एउटा टुहुरोको कथा) को च्यारिटी शोबाट प्राप्त आम्दानीमध्ये १० हजार रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको छ।

चलचित्रका निर्माता तथा कलाकार पूर्ण सुनारका अनुसार गत असोज १० गते धुलाबारी र असोज ११ गते बिर्तामोडमा गरिएको च्यारिटी शोबाट प्राप्त आम्दानीबाट १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

विज्ञापन

आमा–बुबाको माया र साथबाट वञ्चित एक टुहुरो बालकको जीवन, संघर्ष, पीडा, सपना र परिवारप्रतिको मायालाई मुख्य विषयवस्तु बनाएर चलचित्र निर्माण गरिएको निर्माता सुनारले बताए। चलचित्रको च्यारिटी शोबाट प्राप्त आम्दानीमध्ये थोरै भए पनि बाढीपीडितको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए।

विज्ञापन

झापाका विभिन्न रमणीय तथा पर्यटकीय स्थलमा छायाङ्कन गरिएको चलचित्र ‘बाबाको बासुरी’ पूर्ण सुनारको ब्यानरमा निर्माण भएको हो। एक घण्टा ४५ मिनेट लामो चलचित्रको लेखन तथा निर्देशन कमल लिम्बू ‘लाहुरे’ले गरेका छन्।

चलचित्रमा पूर्ण सुनार, शीतल खनाल, विपिन प्रसाईं, भीमा खतिवडा, काजी बराल, राजा कन्दङ्वा, दिलकुमार नेम्वाङ, ओम सेन्चुरी, सनम राजवंशीलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रका निर्माता, संगीतकार तथा गीतकार पूर्ण सुनार हुन्। तीलक रिजालले क्यामेरा तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने पूर्ण सुनार, ममता गुरुङ र यमुना तिवारीले गीतमा स्वर दिएका छन्। चलचित्रको द्वन्द्व निर्देशन सुदीप खवासले गरेका छन्।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितका लागि चलचित्रको च्यारिटी शोमार्फत प्राप्त आम्दानीबाट सहयोग गरिएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय