माधव कल्पितका ‘अकल्पित आख्यान’ र ‘अबको नेपाल’ प्रकाशनको अन्तिम तयारीमा



911 SHARES

झापा । रंगकर्मी, साहित्यकार तथा सामाजिक अभियन्ता माधव कल्पितका दुई कृति ‘अकल्पित आख्यान’ र ‘अबको नेपाल’ प्रकाशनको अन्तिम तयारीमा रहेका छन्। समकालीन नेपाली समाज, नागरिकका पीडा, सामाजिक आन्दोलन, रंगयात्रा, राजनीतिक घटनाक्रम र नेपालको भविष्यबारे प्रश्न उठाउने यी कृतिले फरक बहसको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

‘अकल्पित आख्यान’लाई लेखकले नजिकबाट देखेको र भोगेको समयको आख्यानका रूपमा प्रस्तुत गरेका छन्। नागरिक आन्दोलनको जन्म, त्यसका संघर्ष र उतारचढाव, समाजका दबिएका आवाज, नागरिकले भोगेका पीडा, सार्वजनिक जीवनका पात्र तथा घटनादेखि राष्ट्रिय राजनीतिका बदलिँदा दृश्यसम्म कृतिमा समेटिएका छन्।

विज्ञापन

दुर्गा प्रसाईँको भैंसीपालनदेखि सार्वजनिक जीवन र राष्ट्रिय राजनीतिको केन्द्रसम्मको यात्रालाई पनि आख्यानको एउटा महत्वपूर्ण पाटोका रूपमा समेटिएको छ। यद्यपि कृतिको विषयवस्तु पात्र र घटनाको वर्णनमा मात्र सीमित छैन। घटनापछाडि रहेका प्रश्न तथा त्यससँग जोडिएको नेपाली समाजको मनोविज्ञानलाई कथात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ।

विज्ञापन

कल्पितको आफ्नै रंगयात्रा, झापा नाटक घर निर्माणको सपना, ‘एक व्यक्ति एक इट्टा’ अभियान, नागरिकको सहभागिता र त्यस क्रममा भोगिएका संघर्षले पनि ‘अकल्पित आख्यान’लाई व्यक्तिगत जीवनकथाभन्दा फराकिलो बनाएको छ। कृतिमा राजनीति मात्र नभई समाज, संस्कृति, रंगमञ्च र नागरिक चेतनाका विविध पाटा समेटिएका छन्।

समसामयिक राजनीतिक तथा सामाजिक घटनालाई लेखकले आफ्नै अनुभव, अवलोकन र दृष्टिकोणबाट आख्यानात्मक रूपमा प्रस्तुत गरेका छन्। त्यसैले ‘अकल्पित आख्यान’लाई आधिकारिक इतिहासको विकल्पभन्दा एउटा समयलाई नजिकबाट नियालेका सर्जकको साहित्यिक साक्ष्यका रूपमा बुझ्न सकिने देखिन्छ।

यता ‘अबको नेपाल’ले भने बहसलाई विगतबाट भविष्यतर्फ मोडेको छ। नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था, नागरिकका अपेक्षा, युवाको भविष्य, रोजगारी, अवसर, सुशासन, राज्यप्रतिको विश्वास र परिवर्तनको आवश्यकतामाथि कृतिले प्रश्न उठाएको छ।

‘अबको नेपाल’को मूल प्रश्न भने ‘अब हामी कस्तो नेपाल बनाउन चाहन्छौँ?’ भन्नेमा केन्द्रित छ। राज्य कस्तो हुनुपर्छ, नागरिकको भूमिका के हुनुपर्छ, परिवर्तन केवल नेतृत्व परिवर्तन हो कि सोच परिवर्तन पनि हो तथा भावी पुस्तालाई कस्तो नेपाल हस्तान्तरण गर्ने भन्ने विषयमा कृतिले पाठकलाई सोच्न बाध्य बनाउने प्रयास गरेको छ।

यी दुई कृति एउटै सर्जकका दुई फरक दृष्टिकोणका रूपमा देखिन्छन्। ‘अकल्पित आख्यान’ले भोगिएको समयतर्फ फर्काएर विगतका घटनाको अर्थ खोज्न प्रेरित गर्छ भने ‘अबको नेपाल’ले भविष्यतर्फ हेर्दै अबको बाटोबारे प्रश्न गर्न लगाउँछ।

कल्पितले दुवै कृतिमा सबै प्रश्नको उत्तर दिने प्रयास गरेका छैनन्। बरु केही प्रश्न पाठककै जिम्मामा छाडेका छन्। पुस्तक पढिसकेपछि पनि ती प्रश्नको उत्तर आफ्नै अनुभव, समाज र समयसँग जोडेर खोजिरहनुपर्ने ढंगले कृति तयार गरिएको बताइएको छ।

‘अकल्पित आख्यान’ र ‘अबको नेपाल’ अहिले प्रकाशनको अन्तिम तयारीमा छन्। समय, समाज, संघर्ष र नेपालको भविष्यबारे बहस गर्न चाहने पाठकका लागि यी दुई कृति चासोको विषय बन्ने देखिन्छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय