|
683 SHARES |
विनोद सापकोटा
झापा, कात्तिक १९ । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि रोग संक्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् । व्यावसायिक मौरीपालनबाट मनग्य आम्दानी गर्न सकिने भए पनि किसानले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
झापाको शिवसताक्षीमा सुरु भएको मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायका सम्भावना र चुनौतीबारे अनुभव सुनाउँदै सरकारी सहयोग र किसानमैत्री कार्यक्रमको आवश्यकता औँल्याएका हुन् ।
शिवसताक्षी उद्योग वाणिज्य सङघको समन्वयमा सङकल्प एग्रो टेक प्रालिले आयोजना गरेको पाँचदिने सहकारी मौरीपालन तालिम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम बिहीबारदेखि सुरु भएको हो । तालिममा शिवसताक्षी, कनकाई र अर्जुनधारा नगरपालिकाका २५ जना मौरीपालक किसान सहभागी छन् । तीन दिन सैद्धान्तिक र दुई दिन व्यावहारिक प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
तालिममा सहभागी शिवसताक्षीकी देवीकुमारी दाहालले सुरुमा २ सय घारबाट मौरीपालन व्यवसाय सुरु गरेकी थिइन् । तर, विभिन्न रोगको संक्रमणका कारण १ सय ५० घार नष्ट भएपछि अहिले उनीसँग ५० घार मात्र बाँकी छन् ।
मौरीपालनमा सम्भावना भए पनि किसानले सरकारी प्रोत्साहन नपाएको उनको गुनासो छ । रोग संक्रमणका कारण ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भएको उनले बताइन् । ‘मौरीपालन व्यवसायमा राम्रो सम्भावना छ । तर, किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम र लगानीमैत्री वातावरण सरकारले सिर्जना गर्नुपर्छ,’ उनले भनिन् ।
मौरीपालनबाट वार्षिक २ हजार किलोग्रामसम्म मह उत्पादन गर्दै आएका किसान नन्दकुमार दंगालले पनि मौरीपालन व्यवसायमा विषादीको प्रयोग प्रमुख चुनौतीका रूपमा रहेको बताए । खेतबारीमा विभिन्न कीरा नियन्त्रण गर्न प्रयोग गरिने औषधिका कारण चरनमा गएका मौरी घारमा फर्किएर नआउने समस्या रहेको उनको भनाइ छ ।
‘विषादीको प्रयोगले मौरी मर्ने र घार रित्तिने समस्या छ । यसले किसानको लगानी डुबिरहेको छ,’ उनले भने,‘सरकारको सहयोग र उचित वातावरण भए मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’
कनकाई नगरपालिकाका भुवन अधिकारीले पनि मौरीपालनबाट वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनको अहिले एक सय घार मौरी छन् । उनले कन्काई मौरीपालन उद्योगसमेत दर्ता गरेका छन् ।
व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका अधिकारीले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरे । मौरीपालनमा अन्य पशुपालनको तुलनामा दैनिक आहारा खुवाउनुपर्ने झन्झट कम भए पनि चरनमा गएका मौरी विषादीका कारण नफर्किने समस्या रहेको उनको अनुभव छ ।
‘मौरीलाई बाख्रा–पाठालाई जस्तो पटकपटक आहारा खुवाउनुपर्दैन। तर, चरनमा गएका मौरी विषादीका कारण घारमा फर्किएर आउँदैनन्। त्यसले हाम्रो लगानी डुब्छ,’ उनले भने ।
उनले मौरीपालन व्यवसायलाई संरक्षण गर्न स्थानीय तहसँगै प्रदेश र सङघीय सरकारले पनि किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मौरीपालक किसानलाई अन्य कृषि व्यवसायका किसानसरह प्रोत्साहन र सहयोगको व्यवस्था हुनुपर्ने उनको माग छ ।
शिवसताक्षी नगरपालिकामा अहिले पनि करिब २ हजार मौरीका घारबाट उत्पादन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार करिब ५ वर्षअघि नगरका ५५ प्रतिशत किसानका घरमा मौरीका घार भेटिने गरेकामा अहिले त्यो संख्या घटेको छ ।
मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग संक्रमण, विषादीको प्रयोग र अपेक्षित आम्दानी नहुनु प्रमुख कारण रहेको किसानको भनाइ छ ।
यसैबीच, मौरीपालनबाट आम्दानी गर्न सकिने सम्भावना देखेर अर्जुनधाराका युवा सुवास चापागाईंले पनि आफ्नो फलफूल बगानमा मौरीपालन गर्ने योजना बनाएका छन् । तालिममा पहिलोपटक सहभागी भएका उनले अन्य किसानले मह उत्पादनबाट राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यस व्यवसायमा लाग्ने सोच बनाएको बताए ।
उनको बगानमा आँप, केरा, लिचीलगायतका फलफूलका बोटबिरुवा छन् । फलफूलका बोटबिरुवा र मौरीपालन एकअर्काका लागि सहयोगी हुने भएकाले आफूले यो व्यवसाय रोज्न चाहेको उनले बताए ।
कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत सञ्चालित उदय परियोजनाले प्रदेशभरि नै उद्यम प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्त्रालयका शाखा अधिकृत विमल बास्कोटाका अनुसार परियोजनाबाट उद्यम गर्न चाहने किसानले आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सक्नेछन् ।
परियोजनाको मुख्य उद्देश्य साना तथा मझौला उद्यमीलाई आर्थिक रूपमा सक्षम बनाउनु रहेको अधिकृत बास्कोेटाले बताए । उत्पादित वस्तुको बजारीकरण, ब्रान्डिङ, प्याकेजिङ र उत्पादनका तौरतरिकाबारे किसानलाई जानकारी दिँदै उद्यमलाई व्यावसायिक बनाउन सहयोग गरिने उनको भनाइ छ ।
मौरीपालन व्यवसायलाई दिगो बनाउन उत्पादन मात्र बढाएर नपुग्ने किसानको अनुभव छ । महको गुणस्तर कायम राख्ने, उत्पादनको उचित मूल्य प्राप्त गर्ने, बजारसम्म पहुँच विस्तार गर्ने र विषादीको प्रयोगलाई व्यवस्थित बनाउने विषयमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
किसानले उत्पादन गरेको महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुग्न सके मौरीपालनलाई थप व्यवस्थित तथा आम्दानीमूलक बनाउन सकिने अपेक्षा तालिम आयोजक शंकल्प एग्रोटेक प्रालीका प्रवन्धक निर्देशक शुरेस रेग्मीले बताएका छन् ।
शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत बास्कोटा प्रमुख अतिथि थिए । कार्यक्रममा उदय परियोजनाका राज उप्रेती, चिरञ्जीवी कोइराला, मन्त्रालयका आर्थिक योजना शाखा प्रमुख निरज ढकाल, मौरी विज्ञ तथा प्रशिक्षक भीम अधिकारीलगायतको सहभागिता थियो ।
उदय परियोजना र त्यसबाट सञ्चालित कार्यक्रमबारे शंकल्प एग्रो टेक प्रालिका प्रबन्ध निर्देशक सुरेश रेग्मीले सहभागीलाई जानकारी गराएका थिए ।









