विश्व योग दिवस : बिर्तामोडमा वीरता जेसीजको योग अभ्यास र सम्मान कार्यक्रम

बिर्तामोड । विश्व योग दिवसको अवसरमा वीरता जेसीजको आयोजनामा बिर्तामोडमा योग अभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ शरीर, स्वस्थ मन र समुन्नत समाजका लागि योग” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा योगप्रेमी, सामाजिक व्यक्तित्व तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। पतञ्जली योग समिति बिर्तामोडका अध्यक्ष तथा वरिष्ठ योग प्रशिक्षक चेतन उप्रेती विशिष्ट अतिथि तथा बुद्धनगर योग समितिका संयोजक पदम पौडेल अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रमको संयोजन वीरता जेसीजका कार्यक्रम संयोजक जेसी विजय लिम्बुले गरेका थिए।

विज्ञापन

कार्यक्रमको सुरुआत सामूहिक योग अभ्यासबाट गरिएको थियो। योग प्रशिक्षकहरूको निर्देशनमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए। सो क्रममा नियमित योगले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति, आत्मविश्वास अभिवृद्धि तथा जीवनशैलीजन्य रोगहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जानकारी गराइएको थियो। सहभागीहरूले योगलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।

विज्ञापन

यस अवसरमा बिर्तामोड क्षेत्रमा योगको विकास, विस्तार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पतञ्जली योग समिति बिर्तामोडका अध्यक्ष एवं योग प्रशिक्षक चेतन उप्रेतीलाई विशेष सम्मान प्रदान गरिएको थियो। उप्रेतीले २०६९ सालदेखि निरन्तर रूपमा योग साधना, प्रशिक्षण तथा प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विभिन्न समुदाय, विद्यालय, सामाजिक संघ–संस्था तथा स्थानीय तहसँग समन्वय गरी हजारौँ नागरिकलाई योगप्रति आकर्षित गराउन योगदान पुर्‍याएको भन्दै वीरता जेसीजले उनलाई सम्मान गरेको जनाएको छ।

सम्मान ग्रहण गर्दै उप्रेतीले योग केवल शारीरिक अभ्यास मात्र नभई अनुशासित, स्वस्थ र सकारात्मक जीवन जिउने कला भएको उल्लेख गर्दै योगमार्फत समाजलाई स्वस्थ र सचेत बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहित प्रसाईले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताए। उनले स्थानीय सरकार नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि योग, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए। समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले वीरता जेसीजले सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर गर्दै आएका गतिविधिको प्रशंसा गरे।

सभाध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले विश्व योग दिवस केवल एक दिवसका रूपमा सीमित नभई योगलाई जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताए। स्वस्थ नागरिक निर्माणमार्फत स्वस्थ समाज निर्माण गर्न योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

बुद्धनगर योग समिति, वीरता जेसीजका पदाधिकारी, सदस्य, योग साधक तथा स्थानीय समुदायका प्रतिनिधिसहित ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमले योगप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष जेसी नवराज अधिकारीले आस्था वाचन गरेका थिए भने सहकोषाध्यक्ष अभिषेक गतराजले सम्मानपत्र वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव जेसी सुवास तिखत्रीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय