|
1,057 SHARES |
झापा । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहे पनि भारी वर्षाको पूर्वानुमान भने गरिएको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना रहेको छ।
विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।
राति देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेकाले आगामी दिनमा पनि मौसममा बदली र वर्षाको अवस्था देखिन सक्ने विभागले जनाएको छ।










