|
818 SHARES |
विनोद सापकोटा
झापा, साउन २७ । शिवसताक्षी नगरपालिकामा भूमि प्रशासन तथा नापीसँग सम्बन्धित सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि नगरवासीले समय र खर्च दुवै बचत गर्न थालेका छन् । नगरपालिका कार्यालयबाटै जग्गा प्रशासन र नापीसँग सम्बन्धित विभिन्न सेवा पाउन थालेपछि दमक मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता घटेको हो ।
यस अघि शिवसताक्षी नगरका सेवाग्राही दमक स्थित मालपोत कार्यालय सेवा लिन जानुपर्ने थियो । शिवसताक्षी नगरपालिकामा गत असार ३ गते भूमि प्रशासन शाखा स्थापना भएको थियो । स्थापना भएपछि गत आर्थिक वर्षको असार मसान्तसम्म २४ दिन र चालु आर्थिक वर्षमा हालसम्म १८ दिन गरी जम्मा ४२ दिन शाखाले सेवा प्रवाह गरेको शिवसताक्षी नगरपालिको सूचना शाखाले जनाएको छ । यस अवधिमा ८४४ जना सेवाग्राहीले सेवा लिएका छन् भने त्यस वापत कुल ८८ लाख ८२ हजार २७० रुपैयाँ राजस्व सङ्कलन भएको भुमि प्रशासन शाखा प्रमुख समेत रहेका सहायक सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए ।
अधिकृत नेपालका अनुसार शाखा स्थापनादेखि सरदर दैनिक २ लाख ११ हजार ४८२ रुपैयाँ राजस्व सङ्कलन हुँदै आएको छ । सङकलित राजस्वको ठूलो हिस्सा स्थानीय तहसहित प्रदेश र सङघिय सरकारको खातामा जाने भएकाले भूमि प्रशासन सेवा नगरवासीलाई सुविधा दिने माध्यमसँगै स्थानीय सरकारका लागि आम्दानीको एउटा महत्वपूर्ण स्रोतसमेत बनेको छ ।
गत आर्थिक वर्षको असारमा मात्र भूमि प्रशासन शाखाबाट १०६ वटा जग्गा राजीनामा पास, १३ वटा अंशबण्डा, १ नगद अंश भरपाई, १५ बकस पास, १५ वटा जग्गा रोक्का, १ वटा कित्ता एकीकरण र २ वटा व्यक्तिगत दृष्टिबन्धकसम्बन्धी काम भएका थिए । एक महिनामै १५३ वटा काम सम्पन्न भएको सो साखाले जनाएको छ । त्यस्तै, सोही अवधिमा नापी शाखाबाट २१५ वटा नक्सा प्रमाणित, ५० वटा कित्ताकाट, नक्सा अद्यावधि १९ , नब्सा कित्ता एकीकरण १ गरी २८५ वटा सेवा प्रवाह भएको थियो ।
गत आर्थिक वर्षको उक्त अवधिमा भूमि प्रशासनतर्फबाट मात्रै ४१ लाख ५४ हजार ५९० रुपैयाँ राजस्व सङकलन भएको शाखाले जनाएको छ । त्यसमध्ये करिब १३ लाख ९७ हजार रुपैयाँ संघीय सरकारको खातामा जाने र बाँकी रकममध्ये ६० प्रतिशत स्थानीय तह (शिवसताक्षी ) तथा ४० प्रतिशत प्रदेश सरकारको राजस्वमा जम्मा हुने व्यवस्था रहेको नेपालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा पनि शाखाको सेवा प्रभावकारी रूपमा अघि बढिरहेको छ । हालसम्म १८ दिन सेवा सञ्चालन हुँदा भूमि प्रशासन शाखाबाट १२१ वटा र नापी शाखाबाट २८५ वटा विभिन्न प्रकृतिका सेवा प्रवाह भएका छन् । यस अवधिमा ३३ लाख ३० हजार ६८० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
स्थानीय तहबाटै भूमि प्रशासन र नापीसम्बन्धी सेवा पाउन थालेपछि यसको प्रत्यक्ष लाभ सेवाग्राहीले महसुस गर्न थालेका छन् । यसअघि जग्गा कारोबार, नक्सा प्रमाणित, कित्ताकाट तथा अन्य कामका लागि दमक स्थित मालपोत कार्यालयसम्म पुग्नुपर्ने अवस्थाले सेवाग्राहीको समय, यातायात खर्च र अन्य झन्झट बढाउने गरेको थियो । अहिले तीमध्ये धेरै काम नगरमै हुन थालेपछि एकै दिनमा काम सम्पन्न गर्ने सम्भावना बढेको सेवाग्राही कृष्ण कुमार श्रेष्ठको अनुभव छ ।
उनि स्थानीय छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हुन् । उनका अनुसार सहकारीबाट मासिक १५ पटक सम्म भुमि सम्बन्धी कामका लागि दमक जानुपर्ने अवस्था थियो । अहिले घन्टौ लाग्ने काम मिनेटमा हुने गरेको उनले बताए ।
शिवसताक्षी नगरमा भुमि प्रशासन सेवा स्थापना भएपछि यसको प्रत्यक्ष प्रभाव नगरका बैंक तथा वित्तीय संस्थाहरूमा समेत परेको छ । जग्गा धितो, दृष्टिबन्धक, रोक्का तथा अन्य कारोबारका लागि आवश्यक कागजात र प्रशासनिक प्रक्रिया स्थानीयस्तरमै छिटो सम्पन्न हुँदा बैंक तथा वित्तीय संस्थाको कार्यसम्पादनसमेत सहज भएको बताइएको छ । यसले जग्गा कारोबारसँग जोडिएको समग्र आर्थिक गतिविधिलाई स्थानीयस्तरमै चलायमान बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
तर, सेवा सुरु भएको छोटो अवधिमै उल्लेख्य राजस्व र सेवाग्राहीको संख्या देखिएपछि नगरवासीको अपेक्षा पनि बढेको छ । सेवाग्राहीले सेवा अझ व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र छिटो बनाउनुपर्ने, कर्मचारी तथा प्राविधिक जनशक्ति पर्याप्त राख्नुपर्ने र सेवाको दायरा विस्तार गर्नुपर्ने अपेक्षा गरेका छन् । विशेषगरी भीड हुने समयमा टोकन, डिजिटल आवेदन, अनलाइनबाट कागजातको अवस्था बुझ्न सकिने व्यवस्था तथा सेवाग्राही सहायता कक्ष स्थापना गर्न सके सेवा अझ प्रभावकारी बन्न सक्ने स्थानीय कृष्ण थामीले बताए ।
भूमि प्रशासनजस्तो नागरिकको दैनिक जीवन र ठूलो आर्थिक कारोबारसँग प्रत्यक्ष जोडिएको सेवा नगरमै सुरु हुनु शिवसताक्षीका लागि प्रशासनिक विकेन्द्रीकरणको महत्वपूर्ण उपलब्धि मानिएको छ । अब यसको चुनौती भनेको सेवा सुरु गर्नु मात्र नभई सेवाग्राहीले ‘नगरमै छिटो, सहज र पारदर्शी सेवा पाइन्छ’ भन्ने विश्वास स्थापित गर्नु रहेको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले बताए ।
स्थानीय तहमा सेवा पुगेपछि नागरिकको समय र खर्च जोगिनुका साथै सरकारका तीनै तहको राजस्वमा समेत प्रत्यक्ष योगदान पुग्न थालेको नगरबासीले बताएका छन् । आगामी दिनमा सेवा विस्तार र प्रविधिको प्रयोग बढाउन सके भूमि प्रशासन शाखा शिवसताक्षीको नागरिक सेवाको महत्वपूर्ण केन्द्र बन्न सक्ने नेकपा एमाले शिवसताक्षी ९ का अध्यक्ष लोकेश खनालले बताएका छन् ।










