|
696 SHARES |
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता अहिले गम्भीर संकटमा रहेको बताएका छन्।
पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता पहिलो शर्त भएको बताए।
उनले विसं २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिँदै स्वदेश फर्किएको समयभन्दा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गरे।
मुलुकमा पछिल्लो समय देखिएका जातीय तथा धार्मिक द्वन्द्वका घटनाप्रति संकेत गर्दै खड्काले ती घटनालाई भविष्यमा आउन सक्ने भयावह परिस्थितिको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गरे।
‘मधेशमा देखिएको पछिल्लो घटना ट्रेलर मात्रै हो, फिल्मको सुटिङ हुन बाँकी नै छ,’ उनले भने।
मधेशमा देखिएका पछिल्ला अस्थिरताले मुलुकलाई तरंगित बनाएको उल्लेख गर्दै खड्काले समयमै सचेत भएर आवश्यक कदम नचाले देशले अझ भयावह परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिए।










