|
9,000 SHARES |
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले पहिलो पटक आफ्नै कार्यालयबाट जग्गा पास गरी धनिपुर्जा वितरण सुरु गरेको छ। यसअघि मालपोत कार्यालय दमक धाउनुपर्ने बाध्यता रहेकामा अब नगरपालिकाबाटै सेवा सुरु भएपछि सेवाग्राहीलाई उल्लेखनीय सहजता भएको छ।
स्थानीय तहबाटै जग्गा किनबेच (विक्री पास) र नामसारीसहित धनिपुर्जा उपलब्ध गराउन थालेपछि नागरिकको समय, खर्च र झन्झट दुवै घट्ने अपेक्षा गरिएको छ।
यसक्रममा शिवसताक्षी नगरपालिका–५ निवासी रामबहादुर खड्काले आफूले खरिद गरेको जग्गाको धनिपुर्जा नगरपालिकाबाटै पास गरी प्राप्त गर्नुभयो। नगरप्रमुख मेगाहाङ्ग थोप्राले खाता लगाएर स्वागत गर्दै उहाँलाई धनिपुर्जा हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा नगरप्रमुख थोप्राले जग्गा विक्री पाससँगै नामसारी र धनिपुर्जा वितरणको काम स्थानीय तहबाटै सुरु गरिएको जानकारी दिनुभयो। साथै, नापी, नक्सा लगायत धनिपुर्जासम्बन्धी अन्य सेवासमेत आगामी एक वर्षभित्र नगरपालिकाबाटै उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो।
स्थानीय तहबाट सेवा प्रवाह हुँदा आवश्यक शुल्कबाहेक अतिरिक्त रकम नलाग्ने र विचौलियाको समस्या अन्त्य हुने नगरप्रमुख थोप्राको दाबी छ। “नागरिकलाई झन्झटरहित, पारदर्शी र सहज सेवा दिनु हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो।
नगरपालिकाका अनुसार जग्गा पास तथा धनिपुर्जा वितरण कार्यमा मालपोत कार्यालय दमकका कर्मचारी पवन कार्कीले सहजीकरण गर्नुभएको थियो।
धनिपुर्जा प्राप्त गरेपछि सेवाग्राही रामबहादुर खड्काले खुसी व्यक्त गर्दै मालपोत कार्यालयमार्फत सेवा लिँदा अतिरिक्त खर्च र अनावश्यक झन्झट बेहोर्नुपरेको अनुभव सुनाउनुभयो। “अब आफ्नै नगरपालिकाबाट सेवा पाउँदा धेरै सहज भएको छ,” उहाँले प्रतिक्रिया दिनुभयो।
झापामा शिवसताक्षी, मेचीनगर, अर्जुनधारा र कनकाई नगरपालिकाले स्थानीय तहबाटै धनिपुर्जा वितरणको तयारी गरिरहेका भए पनि शिवसताक्षीले पहिलो पटक औपचारिक रूपमा सेवा सुरु गरेको हो।
नगरपालिकाले सेवा प्रवाहलाई अझ सरल, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यसहित यो व्यवस्था लागू गरेको जनाएको छ।










