|
9,000 SHARES |
राजेन्द्र गौतम ( बिचार / लेख )
लोकतन्त्र केका लागि ? सहज जवाफ आउँछ हरेकले आफ्नो मत निर्धक्क राख्न । तर, ती लोकतान्त्रिक आचरण अनुरुप छन् या छैनन्, मत राख्दा त्यत्तिकै ख्याल गरिनुपर्छ । आफ्नो मत प्रकट गर्दा अरुको अधिकारको सम्मान गर्नु र जिम्मेवार बन्न पनि त्यत्तिकै जरुरी हुन्छ । आफ्नो मत राख्दा सबैको समर्थन र सहमति सायदै जुट्छ । पूर्ण समर्थन र सहमति खोजियो भने त्यो लोकतन्त्र भित्रको अलोकतान्त्रिक चरित्र बन्छ । फरक मत राख्नु नै लोकतान्त्रिक पद्धतिको बिछट्टै सौन्दर्य हो ।
भदौ २४ गते नवयुवा पुस्ताको आवरणमा मच्चाइएको वितण्डाले देश खण्डहर भएको छ । यस्तो हुनुमा भदौ २३ गतेको नरसंहारको आक्रोश अवश्य मिसिएको छ । तर, त्योभन्दा बढी चाहिँ आपराधिक मनोवृत्ति र प्रतिशोधको तुच्छ चेतना जिम्मेवार छ । तोडफोड र आगजनीका अधीक घटनामा आमूल परिवर्तनको धङधङीबाट मुक्त नभएका, पटकपटक सत्तामा बसेका र नअघाएकाहरुका आसेपासे, सपनाको परिवर्तन बाँढेर राजनीतिमा आएका छदमभेषीहरुको एउटा समूहको सम्लग्नता थियोे । त्यसबेलाका भिडियो फुटेज र तस्वीरहरु नियाले पुग्छ ।
सँगै पहिचानको मुद्दा पहाड झैँ ठड्याएका, व्यक्तिगत स्वार्थमा निर्लिप्त दम्भी र पुरातन चिन्तन नै परिवर्तन हो भन्ने पश्चगामी चेतका रुढहरुको सम्लग्नता उत्तिकै देखिन्छ, ती दृश्यहरुमा। जो निक्कै दुखद पाटो हो । अरुका लागि होइन, यो हाम्रै लागि अभिषाप हो । नवयुवाको विद्रोहको नाममा त्यही पुस्ताको कत्लेयाम गरियो । यो नवयुवा पुस्तालाई निकम्मा सावित गर्ने मनाही षड्यन्त्र हो । गगनचुम्बी भवन ठड्याउन अवश्य सकिन्छ । समय लाग्छ, जेनतेन भाँचिएका मनहरु जोडिएलान् । तर, हाँडीमा मकै भुटेझैँ भुटिएको झर्झराउँदो नवयुवा पुस्ता हामीबाट बिलुप्त भएको छ । कदाचित फर्कदैन ।
प्रत्येक मानिसको आआफ्नो मत हुन्छ । त्यो चेतनाले निर्धारण गर्छ । नवयुवा विद्रोहलाई उपलब्धी मान्नेहरु पनि हामी बीचमै छौँ र त्यसमा विमति राख्नेहरु पनि छौँ । यथार्थ चाहिँ नोक्सानीका अघिल्तिर उपलब्धी छैन । आत्मग्लानी मात्रै छ । विद्रोहले केपी ओली नेतृत्वको सरकार ढल्यो । संसद विघटन भयो । संविधान क्षतविक्षत भएको छ । त्योभन्दा बढी चाहिँ एउटा पुस्ताको अग्रणी पंक्ति हराएको छ । सीधा मन भाँचियो । मन भड्कियो । तर, समाजका सामू नवयुवा विद्रोह मात्रै मत राख्ने विषय भएको छ । जो चाहिँ निक्कै टिठलाग्दो पक्ष हो ।
सामरिक महत्वका धरोहर संसद भवन, सिंहदरबार , सर्बोच्च अदालत जलेको छ । जलेको बनाउन अवश्य सकिन्छ । कतिपय कुरा अहिले बनाउन पनि थालिएको छ । भत्काउने, बनाउने दोहोरिइरहेकोे प्रक्रिया हो । यसलाई अभ्यासका रूपमा बुझियो, जो रोकिनु पर्छ । भ्रममा पर्नु हुन्न अभ्यास होइन, असभ्यता हो। जबसम्म यो रोकिन्न आन्दोलनको निसाना यही संरचना बन्छ । अब प्रत्येक संरचना चेतले निर्माण गरिएन भने भदौ २३ र २४ मा एउटा पुस्ता हराए झैँ हराउने छ । मत राख्ने ठाउँमा मशल प्रयोग हुँदा हुने यही हो ।
प्रश्न उठ्छ, के ध्वस्त संरचना नबनाउने त ! खण्डहरको पुननिर्माण नगर्ने त ! नबनाउने भन्नू विद्रुप कुरा हो । बनाउने नै हो । तर, भविष्यमा यस्तो नहोस् भनेर रोक्न दर्बिलो जग हालेर बनाउने हो । अबको निर्माणमा चेतनाको जग पनि हालिनु पर्छ । नकि, भौतिक संरचनाको जग मात्रै । हिजो गम्भीर गल्ती भएको छ । ध्वस्त संरचनाको जग राख्दा सिमेन्ट र कङ्क्रिडको मात्रै जग राखियो। नकामले कहर ननिम्त्याउने जग राखिएन । लोकतन्त्र हो, भनेको पुगेन भने भएको सोक्छु भन्नू चेतना होइन, चर्तीकला मात्रै हो । चर्तीकलाले आन्दोलन चल्छ, आकांक्षा चाहिँ पूरा हुँदैन ।
नवनिर्माण नगरी खुखै छैन । सारा संरचना ध्वस्त छन् । जसका कारण अन्तर्राष्ट्रिय स्तरमा नै नकारात्मक सन्देश प्रवाह भइरहेको छ । त्यो प्रवाह र सन्देशलाई सकारात्मक बनाउन पनि नवनिर्माण अपरिहार्य छ । त्यो नवीन प्रयोगसित नै हुनुपर्छ । सर्बोच्च अदालतले टेण्ट टाँगेर काम गरेको दृश्य तत्कालका लागि छाँया परेपनि मस्तिष्कबाट हट्ने छैन । अभावको बेला सकारात्मक अभ्यास गर्ने हो । स्वयंले आफू तङ्ग्रीने प्रयास गर्ने हो । देशको सर्बोच्च न्यायिक निकायको काम टेण्टमा बसेर गर्नु परेको दृश्यले मन कसरी भाँचिएको होला सहज अनुमान गर्न कुनै कष्ट पर्दैन । त्यसकारण पनि नवनिर्माणमा नवीन अभ्यासको प्रारम्भ किन नगर्ने ? त्यो अभ्यास भनेको चर्तीकलाको होइन, चेतनाको हुनुपर्छ । जहाँ संरचनाको संघार होइन, संयमको सागर हुनुपर्छ।
भौतिक संरचना पनि समुन्नत समाजको जग हो भन्ने हेक्कै राखिएन । सायदै कुसंस्कारको जग राखियो,संस्कारयुक्त शालीन जगको ख्यालै गरिएन । खसोखास त्यसकै दुष्परिणाम हो, आज देशले बेहोरेको विध्वंस । अबका दिनमा यो रोकिन जरुरी छ । नत्र मानवीय विकासको जग माटोमुनी नै धस्सी रहने छ । चेत आएन र चेतनाको विकास भएन भने भौतिक प्रगति एक दिन फेरि पनि यसरी नै ध्वस्त हुने निश्चित छ । जो हाम्रै जीवनकालमा पटकपटक प्रमाणित भइसकेको छ । अब हामीले प्रमाणित गर्न बाँकी रहेको भनेको चेतनाको नैतिक संरचना हो ।
अहिले मुलुक नवयुवाले गरेको अभूतपूर्व बिद्रोहको राप र तापमा छ । त्यही जगमा फागुन २१ मा नयाँ निर्वाचन हुँदैछ । तर, अनिश्चय पनि त्यत्तिकै छ । नवयुवाको बिद्रोहको उपलब्धिलाई स्वीकार्न नसकेर केही दल त्यही बिद्रोहले ढालिदिएको संसद पुनः स्थापनाको माग गरेर सर्बोच्च पुगेका छन् । लोकतन्त्रमा यो स्वभाविक हो । लुटतन्त्र रोक्न गरिएको सामुहिक बिद्रोहलालाई विवेकशुन्य घटनाका रूपमा व्याख्या गरियो भने अर्को बिद्रोहले चेतना बिना बनाइएका संरचनाको जग हल्लाउने निश्चित छ ।
घोषित चुनाव नै गिजोल्ने गरेर एमाले सर्बोच्च गएको हो । त्यसमा कांग्रेसले साथ दिएको छ । लोकतन्त्रमा आवधिक अनिवार्य सर्त नै हो । तर,नवयुवा पुस्ताको बिद्रोहले फालेको संसद पुनस्थापनाको माग चाहिँ लोकतन्त्र कुन पाटो हो ? यो मत धेरैलाई पच्दैन । तर, यो लोकतन्त्रलाई खुल्ला कैदी बनाउने हो भन्ने धेरैले सक्छ ।
नवयुवा पुस्ता एउटा त्यस्तो पुस्ता हो, जो अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रति एकदमै सचेत छ ।सँगै आफ्नो मुद्दामा एकदमै प्रतिबद्ध, नवीन प्रविधिबाट सुसज्जित र त्यत्तिकै जानकार पनि । नवयुवा पुस्ता नागरिक जीवनलाई आत्मसम्मानपूर्ण बनाउने दृढ संकल्पका साथ अघि बढेको छ । जहाँ सहज र सुखद अपेक्षा दृढ छ ।
फलस्वरूप देशमा स्थापित र प्रचलित मान्यतालाई परास्त गर्दै सत्ताको नयाँ मानक नै स्थापित भएको छ । यो मान्यतालाई धर्मराउन नदिन ध्वस्त भौतिक संरचनाको निर्माण र पुननिर्माणमा पनि नयाँ मानक खडा गर्नैपर्छ । पटकपटक असफल भइसकेको प्रयासले पुरानैको पुनरावृत्ति गराउँछ । देश सधैं खरानी टक्टक्याएर अघि बढ्न सक्दैन । यो चाहिँ नवयुवा पुस्ताले सिक्ने पाठ हो । जो नितन्तर तयार हुने नवयुवालाई देश बनाउने सबक हुनेछ ।










