शिवसताक्षीमा सडक मानव उद्धार अभियान सुरु, तीन दिनमै दुई महिलाको उद्वार



677 SHARES

झापा । शिवसताक्षी नगरपालिकामा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सडक मानवलाई सुरक्षित आश्रयमा पुर्‍याउने अभियान सुरु गरिएको छ। नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको पहल तथा स्थानीय सरकारको सहयोगमा तीन दिनभित्र दुई जना बेवारिसे महिलाको उद्धार गरी इटहरीस्थित माया घर नेपाल मा आश्रयका लागि पठाइएको हो।

नगर सभापति अशोक बस्नेतका अनुसार बुधबार दुधे क्षेत्रबाट करिब ५०–५५ वर्षीया एक महिला र शुक्रबार माइधारबाट २०–२५ वर्ष उमेर समूहकी एक युवतीको उद्धार गरिएको हो। दुवैलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सामुदायिक प्रहरी तथा स्थानीय अभियानकर्मीको समन्वयमा सुरक्षित रूपमा माया घर नेपाल पठाइएको उनले जानकारी दिए।

विज्ञापन

“कुनै पनि नागरिक खुला आकाशमुनि बस्न बाध्य नहोस्, भोकै सुत्न नपरोस् र कम्तीमा एकसरो लुगा लगाउन पाओस् भन्ने मानवीय उद्देश्यले यो अभियान सुरु गरेका हौँ,” बस्नेतले भने। उनका अनुसार उद्धार गरिएका दुवै महिलाको खानपान, लत्ताकपडा तथा आवश्यक स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले सहयोग गर्नेछ। स्थानीय स्तरमा सडक मानवको दीर्घकालीन हेरचाहका लागि आवश्यक जनशक्ति र पूर्वाधार अभाव भएकाले विशेषज्ञ सेवा उपलब्ध गराइरहेको माया घर नेपालसँग सहकार्य गरिएको पनि उनले बताए।

विज्ञापन

उद्धार अभियानमा वडा नं. १० का अध्यक्ष हर्क सिगु, प्रहरी चौकी माइधार, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य तथा पत्रकार विनोद सापकोटा र अभियानकर्मी कुशल कान्छोको सक्रिय सहभागिता रहेको थियो। उद्धारका क्रममा सवारी व्यवस्थापनमा समस्या भएपछि शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले नगरको एम्बुलेन्स उपलब्ध गराएको बस्नेतले जानकारी दिए।

अभियानमा सामाजिक अभियन्ता सीता बास्कोटा र मैना दाहाल पनि निरन्तर सक्रिय रहेका छन्। नगरका बजार, चोक तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा जीवन बिताइरहेका व्यक्तिको पहिचान गरी सुरक्षित आश्रयसम्म पुर्‍याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था, स्थानीय सरकार, सुरक्षा निकाय र राजनीतिक संगठनबीचको समन्वयबाट सुरु भएको यो अभियानले सडक मानव व्यवस्थापनमा स्थानीय तहको मानवीय उत्तरदायित्व र सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय